कैलाली – कैलालीको टीकापुर नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बाट लागूऔषध जस्तो देखिने खैरो हेरोइन ३ ग्राम ११० मिलिग्राम र चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही नगरपालिका–९ बस्ने २० वर्षीय पुष्प साउदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो ।

यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट २८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही नगरपालिका–१ बस्ने ३० वर्षीय कुबेर बनलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार उनलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध फेला पारेको जनाएको छ ।
प्रहरीले दुवै घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।


















