खाेज्नुहाेस

लम्कीचुहा अस्पताल स्तरोन्नतिको लागि विनियोजित बजेट कार्यान्वयनमा सहयोग गरौं : मन्त्री खड्का

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्न विनियोजित बजेट कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन । बिहिबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरी ४ करोड ८७ लाख रुपैयाँ बजेटसमेत विनियोजन भइसकेकाले अब यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।

उनले स्थानीय तह मातहत रहेको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय वर्तमान मेयर शुशिला शाही कै सिफारिसका आधारमा गरिएको उल्लेख गर्दै प्रादेशिक अस्पताल सञ्चालनको प्रक्रियामा कुनै अवरोध नगर्न आग्रह गरे ।

attariya hospital
navjiwan hospital

मन्त्री खड्काका अनुसार लम्कीचुहा अस्पताललाई प्रदेश सरकारअन्तर्गत ल्याउने निर्णय संघीय सरकारको स्वीकृतिअनुसार गरिएको बताए । उनले अस्पताललाई विशेषज्ञ सेवा दिने उद्देश्यसहित २०८१ साल असोज १७ गते प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको र २०८२ साल जेठ २६ गते नेपाल सरकारको मन्त्रिपरिषद् स्तरीय निर्णयबाट औपचारिक स्वीकृति प्राप्त भएको जानकारी दिए । उनले अस्पताल सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरिसकेको बताए । यसका लागि लम्कीचुहा नगरपालिकालाई तीन पटकसम्म औपचारिक पत्राचार गरिएको भए पनि नगरपालिकाबाट कुनै चासो नदिइएको आरोप लगाए ।

मन्त्री खड्काले अस्पतालको सेवा विस्तार, व्यवस्थापन र आवश्यक पूर्वाधार विकासका लागि ४ करोड ८७ लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिँदै उक्त रकम अस्पताललाई गुणस्तरीय प्रादेशिक स्वास्थ्य संस्थाका रूपमा विकास गर्न खर्च गरिने बताए । पत्रकार सम्मेलनमा उनले मेयर शुशिला शाहीप्रति संकेत गर्दै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वयम् बन्ने चाहना व्यक्त गरिएको दाबी गरे । तर त्यस्तो व्यवस्था कुनै कानुनी मापदण्डमा नरहेकाले योग्यता र निर्धारित प्रक्रियाका आधारमा बाहिरबाट व्यवस्थापन समिति चयन गरिएको उनको भनाइ थियो ।

मन्त्री खड्काले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रस्ताव स्वयं नगरपालिकाकै मागअनुसार अघि बढाइएको दाबी गर्दै नगरपालिकाकै आग्रहका आधारमा अस्पताललाई सो हैसियत प्रदान गरिएको स्पष्ट पारे । उनले कानुनको दायराभित्र रहेर अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै व्यक्तिगत इच्छा वा पदको आकांक्षाका कारण सर्वसाधारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने उल्लेख गरे ।

मन्त्री खड्काले आम नागरिकको आवश्यकता र मागलाई केन्द्रमा राखेर लम्कीचुहा अस्पताललाई थप विस्तार गर्दै सुविधा सम्पन्न र गुणस्तरीय प्रादेशिक अस्पतालका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।