अत्तरिया– कैलालीको अत्तरियामा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । बिहिबार संस्थाको सभाहलमा एक औपचारीक कार्यक्रमका बिच नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन गरिएको हो ।
संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही वैशाख २६गते निर्वाचन भएको थियो । निर्वाचनबाट अध्यक्षमा राजेन्द्र खड्का, उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्म सिँ कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद र सचिवमा छबिन्द्र नाथ योगी निर्वाचित भएका थिए । यसैगरी निर्वाचनबाट सदस्यहरुमा रमेश कडायत, धर्मराज भट्ट, खिमादेवी ओझा, चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद र राधा बिष्ट कुँवर निर्वाचित भएका थिए ।


पदस्थापन ग्रहण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा की सदस्य तुलसी देवकोटाले नयाँ कार्यसमितिमा युवाको टिम आएकोमा खुसी लागेको बताईन । उनले संविधानले नै सबै नागरिकले स्वच्छ र सफा खानेपानी खान पाउनुपर्ने अधिकार दिएको बताउदै उनले त्यसका लागि नयाँ कार्यसमिति अघि बढ्ने आफूले विश्वास लिएको बताईन । खानेपानी नपुगेका स्थानहरुमा खानेपानी पु¥याई सबैलाई खानेपानीको पहुँचमा ल्याउन जरुरी रहेको उनको भनाई थियो । उनले अघिल्लो पटक राजनितिक रुपमा नेतृत्व चयन गरिएको भएपनि यसपटक एजेण्डा सहितको निर्वाचन भएकाले अहिलेको समितिले निर्वाचनका समयमा सार्वजनिक गरेका एजेण्डाहरुमा टेकेर काम गर्ने विश्वास लिएको समेत बताईन ।

कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्ष खड्काले आफूले भावुक बन्दै पदभार ग्रहण गरेको बताए । उनले संस्थामा धेरै चुनौतीहरु रहेकाले ति चुनौतीहरुलाई कसरी समाधान गर्ने भन्ने चिन्ता नै आफू भावुक बन्नुको कारण रहेको बताए । उनले आफूले निर्वाचनका समयमा सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई अक्षरस पालना गर्ने विषयमा आफू कटिबद्ध रुपमा लागिपर्ने बताए । पानीको माग बढ्दै गईरहेकाले त्यसको पुर्तिका लागि आफूले योजनाबद्ध रुपमा अघि बढ्ने बताउदै उनले स्थानियस्तरबाट कमेन्ट नभई सुझाव सल्लाहको अपेक्षा राखेको बताए ।


















