वीरगन्ज – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत ४१ औँ खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मधेस प्रदेशलाई जितका लागि ३९१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
वीरगन्जमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रनको विशाल योगफल खडा गर्यो।


एपीएफको विशाल स्कोरमा ओपनर आसिफ शेखले ऐतिहासिक ब्याटिङ गरे। उनले मात्र १४२ बलको सामना गर्दै २०८ रनको विष्फोटक दोहोरो शतकीय इनिङ्स खेले। आफ्नो विष्फोटक पारीका क्रममा उनले १५ चौका र १७ छक्का प्रहार गरेका थिए। उनी ४५.६ ओभरमा रिटायर्ड आउट हुनुअघि एपीएफले बलियो स्थिति बनाइसकेको थियो।
आसिफलाई साथ दिने क्रममा कप्तान रोहित पौडेलले ७३ बलमा ५५ रनको अर्धशतकीय योगदान दिए भने सन्दीप जोराले ४२ बलमा ५६ रनको आक्रामक पारी खेले। अन्त्यमा लोकेश बमले २१ र कमल सिंह ऐरीले ६ बलमा १८ रन जोड्दै टोलीलाई विशाल योगफलसम्म पुर्याए।
बलिङतर्फ मधेस प्रदेशका रुपेश सिंहले १० ओभरमा ८० रन खर्चेर ३ विकेट लिए भने रन्जित कुमारले १ विकेट हात पारे। अन्य बलरहरू एपीएफका ब्याटर सामु निकै महँगो सावित भए।



















