काठमाडौं – हेमन्त धामीले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि कर्णालीलाई ११९ रनमा रोकेको सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरले २९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक २६ रन बनाए भने खडक बोहराले २३ रन बनाए । मिलन बोहरा १८ र शेर मल्ल १० रनमा अविजित रहे । कर्णालीका लागि अनुज चनारा र दिवान पुनले २–२ विकेट लिए भने प्रकाश जैशी र दिपेन्द्र रावतले १–१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनाएको थियो । बिपिन रावलले सर्वाधिक ३३ रन बनाए भने सुनिल धमलाले २८ रन बनाए । सुदूरका हेमन्तले ७ ओभरमा १६ रन मात्र दिएर ६ विकेट लिए । शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १–१ विकेट लिए ।



















