खाेज्नुहाेस

ओलानीबासी भन्छन् ‘अहिले हाम्रो मुख्य समस्या सडकको हो’

Image

अत्तरिया – प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारहरू घरदैलोमा गइरहँदा ओलानी बासिले मुख्य समस्याका रूपमा सडकको मुद्दालाई उठाइरहेका छन् । सुगम क्षेत्र भएर पनि सडक पहुँच मार्ग नहुँदा सास्ती खेपिरहेका यस क्षेत्रका जनताले सडक बनाइदिने नेतालाई भोट दिने बताइरहेका छन् । यस्तै उनीहरूले कृषि गर्नको लागि सिचाइको पनि समस्या भएको, बेरोजगारीको समस्या, गुणस्तरीय शिक्षा स्वास्थ्यका मुद्दा पनि उम्मेदवारहरूलाई सुनाइरहेका छन् ।

गोदावरी नगरपालिका – ११ ओलानीका दुलही सिंह खड्काले सडक र सिचाइको मुख्य समस्या भएको बताए । ‘हामीलाई रोड र मोहना सिचाइको कुलोको समस्या माथि पुगाइदिने नेता चाहिएको छ’ उनले भने ‘नहर भए पनि बर्सातमा नदीले कुलो बगाउने भएकाले सिचाइ गर्न पाइँदैन । फेरी बोरिङको महँगो शुल्क तिरेर पानी लगाउनु पर्छ । यसले खेतीपाती गर्न निकै समस्या छ । ७१ वर्षीय खड्काले बाटोघाटोको पनि निकै समस्या भएको बताए ।

attariya hospital

स्थानीय प्रेम बहादुर बडैलाले २०२३ वर्षमा खुलेको सडक अहिले सम्म कालोपत्रे नभएको बताए । ‘यस क्षेत्रबाट सांसद धेरै भए, गुनासा पनि लगे, तर हाम्रो रोडको समस्या समाधान भएन’ उनले भने ‘अब आउने प्रतिनिधिले हाम्रो मुख्य समस्या सडक बनाइदिनु प-यो ।’ उनले ओलानीलाई सौतेलो व्यवहार गरिएकाले अब त्यसो नगरियोस् भन्ने आफूहरूको चाहना रहेको बताए । उनले ओलानीमा खानेपानीको समस्या भने अहिले समाधान भएको बताए ।

navjiwan hospital

स्थानीय धौली बडैलाले केही ठाउँमा सडक निर्माण भए पनि अझै बाटोघाटोको समस्या कायमै रहेको बताइन् । भोट माग्न सबै आए पनि आफ्नो मनले भोट दिने उनको भनाइ छ । उनले ओलानीमा खानेपानीको समस्या भने समाधान भएको बताइन । ‘पहिले पानीको लागि घडा ताउला लगेर मछेली जानुपर्ने बाध्यता थियो’ उनले भनिन ‘अहिले पानीको दुःख हटेको छ ।’

स्थानीय नवल किशोर कठायतले जेन जी आन्दोलनको कारण फागुन २१ गते हुन गइरहेको चुनावमा काम गर्ने नेतृत्व आउनु पर्ने बताए । उनले विगतमा चुनावका बेला आश्वासन दिएर पछि देखा नपर्ने समस्या रहेकोमा अब त्यसो नहुनुपर्ने बताए । ‘विगतमा नेताहरूले कमी कमजोरी गरेकै हुन, संविधानमा पनि त्रुटि भएको छ’ उनले भने अब चुनाव जितेर जानेले संविधान संशोधन गरेर जनताको हितमा काम गर्नुपर्छ ।’

उनले आफूहरूको अपेक्षा बाटोघाटो, शिक्षा स्वास्थ्यमा सुधार, बेरोजगारीको समस्या समाधान हुनुपर्ने बताए । ‘अहिले नेताहरूले भन्न त सबै काम गरिदिन्छौ भनिरहेका छन् । तर, अलि अविश्वास पैदा भएको छ’ उनले भने ‘चुनावका बेला भन्ने त्यसपछि बेपत्ता हुने समस्या छ । अब यसमा सुधार हुनुपर्छ ।’

कैलाली क्षेत्र नम्बर ४ मा पर्ने ओलानी पछिल्लो समय खानेपानीको समस्या टर्दै गएको भए पनि विगत लामो समय देखि निर्माणाधीन सडकको काम सम्पन्न नहुँदा यस क्षेत्रका जनताले सास्ती खेप्दै आएका छन् । हाल यस क्षेत्रबाट चुनाव लडिरहेका १६ जना उम्मेदवारले नै यस क्षेत्रका समस्या समाधानका लागि बाचा गरे पनि काम गर्ने विश्वास दिन सक्नेलाई मात्रै भोट दिने यस क्षेत्रका जनताहरूको भनाइ रहेको छन् ।