अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग गरिएको छ । बिहिबार सैनिक आवाशिय महाविद्यालय लगायत, समौजी किचन सप, फिटनेस प्लानेट जिम तथा जुम्बा हाउस र माँ निंगलासैनी निर्माण सेवा प्रा.लि. ले विद्यालयलाई विभिन्न शैक्षिक सामाग्रीका साथै अन्य सामग्रीहरु पनि सहयोग गरेका हुन ।
विद्यालयमा सैनिक आवाशिय महाविद्यालयले अन्तरक्रिया तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा नै अन्य विभिन्न सहयोगीदाताहरुले सहयोग गरेको विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताए । सैनिक आवाशिय महाविद्यालयले आफ्ना विद्यालयका विद्यार्थी र सुप समावेशी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बिचमा अन्तरक्रिया गरेको थियो । जसमा विद्यार्थीहरुले एक अर्काको विद्यालय तथा विद्यार्थीहरुको वस्तुस्थितिका बारेमा जानकारी राख्ने अवसर पाएको साउँदले बताए ।

कार्यक्रममा सैनिक आवाशिय महाविद्यालयले सानो ठुलो गरी ३६० गोटा कपी, रातो र कालो ८९ गोटा कलम, १५८ गोटा पेन्सिल, १५८ गोटा इरेजर, १५८ गोटा कटर र सानो ठुलो गरी ७९ गोटा स्कुल ब्याग विद्यालयलाई हस्तान्तरण गरेको थियो । समौजी किचन सप ले पनि विद्यालयलाई शैक्षिक सामग्री र विभिन्न भाडाकुडाहरु सहयोग गरेको थियो । विद्यालयका संस्थापक अध्यक्ष साउँदका अनुसार समौजी किचन सपले सुप समावेशी आधारभुत विद्यालयलाई सानो र ठुलो मिलाएर २३८ गोटा कापी सहयोग गरेको थियो भने ३० गोटा गिलास, ३० गोटा थाल र २ वटा बाटा पनि सहयोग गरेको थियो । त्यस्तै माँ निंगलाशैनी निर्माण सेवा प्रा.लि. विद्यालयलाई २५२ गोटा कापी सहयोग गरेको साउँदले बताए । त्यसबाहेक फिटनेस प्लानेट जिम तथा जुम्बा हाउसले पनि विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको उनले बताए । साउँदले विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रममा साउँदले विद्यालयको स्थापनादेखी हालसम्म भएगरेका प्रगतीहरुका बारेमा जानकारी गराएका थिए ।
यसैबिच कार्यक्रममा दुवै विद्यालयका ५ जना विद्यार्थीहरुको एकमुष्ट जन्मदिन मनाईएको थियो । विद्यार्थीहरुलाई सँगै सहभागी गराएर उनिहरुको जन्मदिनका अवसरमा केक काटिएको साउँदले बताए ।

कार्यक्रममा बोल्दै सैनिक आवाशिय महाविद्यालयका प्रमु व्यवस्थापक तथा प्रमुख सेनानी खिमलाल रानाले शिक्षा बालबालिकाको जन्मसिद्ध अधिकार भएको बताए । उनले सामाजिक, आर्थिक, शारिरीक वा मानसिक अवस्थाका कारण कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनुहुदैन भन्ने विस्वास र जिम्मेवारीबोधका साथ दुवै विद्यालयबिच आपसी अन्तरक्रिया र सहकार्य प्रर्वद्धन गर्दै कार्यक्रम आयोजना गरिएको बताए ।
उनले विद्यार्थीहरुमा समावेशी शिक्षा, नैतिक मुल्य, समाजिक उत्तरदायित्व र सेवा भावको विकास गर्ने कार्य पनि यस्ता कार्यक्रमहरुले गर्ने बताए । त्यसबाहेक उनले अध्ययनका लागि शारिरीक फरक क्षमता बाधक नहुने तर इच्छा शक्ति हुनुपर्ने भावना जागृत गराउने एवम् विद्यायको शिक्षण सिकाई क्रियाकलापमा थप योगदान पु-याउनु कार्यक्रमको लक्ष्य रहेको बताए ।
उनले शिक्षाबाट नै समावेशी समाज निर्माण सुरु हुने बताउदै त्यसको सुरुवात शिक्षित व्यक्तिहरुले गर्नुपर्ने बताए ।
उनले फरक क्षमता भएका बालबालिकाहरुमा आत्मविस्वास जगाउनु, उनिहरुलाई अवसर, माया तथा सम्मान दिनु आजको आवश्यकता भएको समेत बताए । फरक क्षमता हुनु कमजोरी नभई पहिचान भएको बताउदै उनले आफूले आटे जस्तो सुकै काम पनि गर्न सकिने जोस राख्न आवश्यक हुने बताए । प्रमुख सेनानी रानाले फरक क्षमता भएका बालबालिकाहरुका लागि सुप समावेशी आधारभुत विद्यालयले निर्वाह गरिरहेको भुमिका प्रशंसनिय रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका– २ का कार्यवाहक वडाध्यक्ष डबल बहादुर साउँदले धेरै ठुलो संघर्ष र मेहनतले सुप समावेशी आधारभुत विद्यालयलाई सञ्चालन गर्न सफल भएको बताए । फरक क्षमता भएका व्यक्तिहरुसँग पनि क्षमता भएको र अवसर पाए उनिहरुले देखाउन सक्ने उनको भनाई छ ।
उनले सबैको साथ र सहयोगले विद्यालयलाई यहाँसम्म पु¥याउन सफल भएको बताउदै आगामी दिनमा पनि विद्यालय सञ्चालनको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहने बताए । उनले वडा कार्यालयले पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


















