डडेल्धुरा – डडेल्धुरामा निःशुल्क परिवार नियोजनसम्बन्धी शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय डडेलधुराको आयोजना, सुनौलो परिवार नेपालको सहकार्य तथा जिल्लाभित्रका विभिन्न स्थानीय तहको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

फागुन ९ मा रेडक्रस भवन डडेल्धुरा, फागुन ११ मा जोगबुडा अस्पताल र फागुन १२ मा आलिताल स्वास्थ्य चौकीमा शिविर सम्पन्न गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । शिविरमार्फत भ्यासेक्टोमी र मिनिल्यापजस्ता स्थायी परिवार नियोजन सेवा पूर्णरूपमा निःशुल्क उपलब्ध गराइएको थियो ।

स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर भवान सिंह कुँवरका अनुसार तीनवटै स्थानमा सञ्चालन गरिएको शिविरबाट २७ जनाले स्थायी परिवार नियोजन सेवा लिएका छन् । जोगबुडा अस्पतालमा सम्पन्न शिविरबाट १२ जनाले सेवा लिएका थिए, जसमा ३ जनाले भ्यासेक्टोमी र ९ जनाले मिनिल्याप सेवा लिएका हुन् ।
जिल्ला सदरमुकाममा रहेको रेडक्रस भवन डडेल्धुरामा आयोजित शिविरबाट ६ जनाले सेवा लिएका छन् । तीमध्ये १ जनाले भ्यासेक्टोमी र ५ जनाले मिनिल्याप सेवा लिएका थिए । आलिताल स्वास्थ्य चौकीमा सम्पन्न शिविरबाट ९ जनाले सेवा लिएका छन्, जसमा २ जनाले भ्यासेक्टोमी र ७ जनाले मिनिल्याप सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
















