अत्तरिया – कैलाली जिल्लाको गोदावरी नगरपालिका–११ बांगेसाल (ओलानी क्षेत्र) सर्पको जोखिम हुने क्षेत्रका रूपमा परिचित छ । वर्षेनी यहाँ सर्पदंशका कारण स्थानीयले ज्यान समेत गुमाउने गरेका छन् । यस्तो जोखिमयुक्त क्षेत्रमा अध्यारोमा रात बिताउनुपर्ने अवस्था झन् कष्टकर हुन्छ ।
यही ठाउँमा बस्दै आएकी सुना भारती लामो समयसम्म बिजुली बिना अध्यारोमै बस्न बाध्य थिइन् । सानो टहरोमा छोरीसँग बस्दै आएकी उनले केही समय आफन्तको घरबाट तार तानेर बत्ती बालिन् । तर आम्दानीको स्रोत नभएकाले बिजुलीको बिल तिर्न नसक्दा त्यो सुविधा पनि बन्द भयो । त्यसपछि उनी फेरि अध्यारोमै बस्न थालिन् ।

महिनौँदेखिको समस्या सोमबार समाधान भयो । स्थानीय छत्रबहादुर भट्टले उनको घरमा बिजुली जडान गरिदिए । भट्ट आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार पनि हुन् ।
भट्टले आफूले भोटका लागि नभई मानवताको भावनाले सहयोग गरेको बताए । ‘स्थानीय स्तरमा हुने सबै समस्या भोटकै लागि समाधान गरिन्छ भन्ने होइन’ उनले भने, ‘उहाँ (सुना भारती) को परिवार महिनौँदेखि अध्यारोमा बसिरहेको थाहा पाएपछि एउटा मानवले अर्काे मानवप्रति गर्नुपर्ने कर्तव्य सम्झेर सहयोग गरेको हुँ ।’ उनले निर्वाचनका बेला मात्र नभई अन्य समयमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए ।
‘धेरै मानिस निर्वाचनका समयमा मिठा भाषण र बाचा गर्छन् तर पछि देखिँदैनन्’ उनले भने, ‘म त्यस्तो गर्दिनँ । म यहीँको मान्छे हुँ । यहाँका स्थानीय र सामाजिक समस्याको समाधानका लागि सधैं लागिरहनेछु ।’ भट्टले सुनाको घरको बिजुलीको बिल पनि आफूले नै तिरिदिने प्रतिबद्धता जनाएका छन् ।

बिजुली बाल्न पाएपछि सुना भारतीले खुसी व्यक्त गरिन् । उनले आफूले बल्ल उज्यालोमा बस्न पाएको भन्दै गरिब र असहायहरुको सहयोग गर्ने व्यक्ति नै जनप्रतिनिधि बन्न योग्य हुने बताईन । ‘उहाँले धेरै ठूलो गुन लगाइदिनुभएको छ । अब उज्यालोमा बस्न पाएकी छु’ उनले भनिन्, ‘गरिब र असहायको सहयोग गर्ने व्यक्ति नै जनप्रतिनिधि बन्न योग्य हुन्छन् जस्तो लाग्छ । उहाँलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।’
छाक टार्न अझै संघर्ष
बिजुली जडान भए पनि सुनाको आर्थिक समस्या भने जस्ताको तस्तै छ । दुई वर्षअघि भारतबाट स्वदेश फर्किएकी उनी अहिले १८ वर्षीया छोरी जानकीसँग टहरोमा बस्दै आएकी छन् ।वर्षौंअघि परिवारसहित रोजगारीका लागि भारत गएकी उनी दुई वर्षअघि मात्रै स्वदेश फर्किएकी हुन् । श्रीमान भारतमै बेपत्ता भए । ३० वर्षीय छोराको पनि बिरामीका कारण मृत्यु भयो । त्यसपछि छोरीलाई लिएर उनी स्वदेश फर्किएकी हुन् । अहिले बस्नका लागि एउटा सानो टहरो बाहेक अन्य सम्पत्ति छैन ।
जीविकोपार्जनका लागि उनी गाउँघरमा मजदुरी गर्छिन् । ‘यताउता काम गरेर खान्छौँ’ उनले भनिन्, ‘कहिले कसैको धान काट्ने, कहिले गहुँ काट्ने, कहिले रोपाइँमा जाने गर्छु ।’ करिब ६० वर्ष पुग्न लागेकी उनले घरायसी काम गरेर अहिलेसम्म छोरीसँगै छाक टार्दै आएकी छन् ।
आर्थिक अभावकै कारण छोरी जानकीले पढाइ पनि अगाडि बढाउन सकेकी छैनन् । भारतमा कक्षा ८ सम्म पढेकी उनले यहाँको सामुदायिक विद्यालयमा भर्ना हुन खोजिन् । तर विद्यालयले भारतको शैक्षिक कागजात मागेपछि पढाइ रोक्नुप¥यो ।
‘भारतबाट आएपछि यहाँ पढ्न गएकी थिएँ’ जानकीले भनिन्, ‘तर स्कुलले भारतको कागजात माग्यो । हाम्रो आर्थिक अवस्था कमजोर छ । कागजात ल्याउन पनि सकिएन, त्यसैले पढाइ छोड्नुप¥यो ।’ हाल सुनाको परिवार स्थायी काम र सहयोगको आशामा छ । आमाछोरीमध्ये कम्तीमा एक जनाले नियमित काम पाए दैनिकी सहज हुने उनीहरूको विश्वास छ ।



















