अत्तरिया – कैलालीको धनगढीबाट प्रहरीले साढे १० लाखको अवैध सामान बरामद गरेको छ । सोमबार धनगढी उपमहानगरपालिका ८ बाट भारतबाट भन्सार छली ल्याएका २ लाख ७८ हजार ४१० रुपैयाँ बराबरको पङ्खा क्लिप,पङ्खा हुक, बेरिङ लगायतका सामानहरू बरामद गरिएको छ ।

उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रदेश प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका – १८ फूलबारीका रामचन्द्र जोशीको घर कोठाबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ७ लाख ८० हजार ८९० रुपैयाँ बराबरका इलेकट्रोनिक सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सयुक्त प्रहरी टोलीले घरधनी रामचन्द्र जोशीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।



















