खाेज्नुहाेस

छाडा चौपाया : फेरी बन्दै चुनावी एजेन्डा

Image

अत्तरिया – विगत डेढ दशकदेखि समाधान हुन नसकेको छाडा चौपायाको समस्या फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको एजेन्डा बनेको छ । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा निर्वाचनमा होमिएका उम्मेदवारहरूले छाडा चौपायाको मुद्दालाई चुनावी एजेन्डा बनाएका छन् । विगतदेखि स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनको एजेन्डा बन्दै आएको भए पनि समाधान हुन नसकेको अवस्थामा पुनः दलहरूले यसलाई महत्वका साथ उठाएका छन् । कैलाली ४ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका दलहरूले आफ्नो चुनावी घोषणापत्र/प्रतिबद्धता पत्र/बाचा पत्रमा छाडा चौपायाको समस्या समाधान गर्ने उल्लेख गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचन लडिरहेका लेखराज भट्टले आफ्ना कृषिका कार्यक्रम अन्तरगत छाडा चौपायाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले छाडा चौपाया समाधानका लागि निर्वाचन क्षेत्र भित्र आवश्यक गौशालाको निर्माण गरी पशु चौपाया संरक्षण गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

attariya hospital

यस्तै नेपाली कांग्रेसबाट चुनाव लडिरहेका गोरख बहादुर विष्ट (आनन्द) ले छाडा चौपायाको समस्यालाई सबैभन्दा ठुलो समस्याका रूपमा औँल्याएका छन् । उनले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा सबैभन्दा ठुलो समस्याको रूपमा रहेको छाडा चौपायालाई व्यवस्थित गर्ने उल्लेख गरेका छन् ।

navjiwan hospital

यस्तै रास्वपाका उम्मेदवार खेम राज कोइरालाले पनि आफ्नो प्रतिबद्धता पत्रमा छाडा चौपायाको समस्या समाधान गर्ने बताएका छन् । उनले छाडा पशु चौपायाहरूलाई सुरक्षित गर्न स्पष्ट कानुनी व्यवस्था तयार गरी आय आर्जनको स्रोत बनाउन पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

हालसम्म यस क्षेत्रबाट चुनावी प्रतिबद्धता सार्वजनिक गरेका दलहरूले छाडा पशु चौपायाको समस्यामा एजेन्डाका रूपमा राखिरहँदा प्रतिबद्धता पत्र सार्वजनिक गर्न बाकी दलहरूले पनि हाल भोट माग्ने क्रममा आफ्नो एजेन्डाको रूपमा प्रस्तुत गर्दै आइरहेका छन् ।

मुख्यतया सुदूरपश्चिमका तराइका जिल्लाहरूमा रहेको छाडा चौपायाको समस्या लामो समय देखि थाती रहेको भए पनि यसको पूर्ण निराकरण भने हुन सकेको छैन । यसको समस्या समाधानका लागि हाल स्थानीय सरकार र प्रदेश सरकारले बजेट नै विनियोजन गरेर करोडौँ खर्च समेत गरिसकेका छन् ।

गोदावरी नगरपालिकामा पनि स्थानीय सरकार पिच्छे फरक फरक मोडेलमा छाडा पशु चौपायाको व्यवस्थापन गर्ने प्रयास हुँदै आएको छ । तर, सबैजसो मोडेल फेल हुँदा छाडा चौपायाका कारण किसानले सबैभन्दा बढी दुःख पाउने गरेका छन् । छाडा चौपाया खेतमा लगाएको बालीनाली खाने गरेकाले किसानले निकै समस्या खेप्दै आएका छन् । अर्कोतर्फ राजमार्ग सडकमा छोडिएका छाडा चौपायाका कारण दुर्घटना समेत हुने गरेका छन् ।

हाल स्थानीय तहहरुले छाडा चौपाया व्यवस्थापनका नाममा गौशाला बनाएर थुन्ने काम गरेका भएपनि सडक पूर्ण रुपमा छाडा चौपाया मुक्त बन्न सकेका छैनन् भने अर्कोतर्फ गौशालाहरुमा फितको व्यवस्थापनका कारण छाडा चौपाया मर्ने, पुनः सडकमै छाड्ने क्रम चल्दै आएको छ ।