अत्तरिया – कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमसँगै सुरु भएको विद्यालयको वार्षिकोत्सव समारोह बुधबार औपचारीक कार्यक्रमकै बिच सम्पन्न भएको हो ।
विद्यालयका संस्थापक गिरीराज कडायतको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै उनले लोटस आईले शैक्षिक क्षेत्रमा धेरै ठुलो प्रगती गरेको आफूले पाएको बताए । उनले शिक्षाक्षेत्रमा प्रगती हुनु एकदमै राम्रो कुरा भएको समेत बताए । उनले अन्य क्षेत्रको विकासका लागि पनि शिक्षा क्षेत्रको विकास हुन जरुरी रहेको प्रष्ट पारे ।


‘कुनै पनि क्षेत्रको विकासका लागि शैक्षिक क्षेत्रको विकास हुन जरुरी छ’ उनले भने ‘शैक्षिक क्षेत्रको विकास गर्न नसके जिवन सार्थक हुन सक्दैन ।’ उनले स्थानिय सरकारले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेको बताए । उनले विगतको तुलनामा गोदावरी नगरक्षेत्र भित्रका शैक्षिक कार्यहरुमा भिन्नता आएको समेत बताए । उनले विकास निर्माणका कुरालाई रोकेर भएपनि शिक्षामा लगानी लगाएको बताए । शैक्षिक गुणस्तर नबढाईकन अन्य विकासको सम्भावना नहुने उनको भनाई छ ।
नगरप्रमुख भट्टले गोदावरीको शिक्षा क्षेत्रमा धानेको भन्दै संस्थागत विद्यालयका सञ्चालकहरुलाई धन्यवाद ज्ञापन गरे । उनले शिक्षाको महत्वको बारेमा आफू जानकार भएको बताउदै स्थानिय तहको शिक्षाको मेरुदण्ड जोगाउने कार्य संस्थागत विद्यालयहरुले गरेको बताए । ‘तपाईहरुले आफ्नो घर खेत जग्गा जमिन बैंकमा राखेर यो क्षेत्रको शिक्षाको विकासमा लाग्नुभएको छ’ उनले भने ‘सरकारले गर्न नसकेको व्यवस्थालाई तपाईहरुले अघि बढाउनुभएको छ, तपाईहरु धन्यवादको पात्र हुनुहुन्छ ।’ उनले आफू नगरप्रमुख भएर शिक्षामा सतप्रतिशत राम्रो काम गर्न खोज्दा पनि नसकेको अवस्थामा संस्थागत विद्यालयका सञ्चालकहरुले त्यो कार्य गरेको अवस्था रहेको पनि बताए ।
बुधबार नेपालका चर्चित मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले विद्यायको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई समेटेर पहिलो दिन वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो । बिहिबार भने कक्षा ६ देखी १२ सम्मका विद्यार्थीहरुलाइ समावेश गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा कक्षा ६ देखी माथीका विद्यार्थीहरुका विभिन्न प्रस्तुतीहरु राखिएका थिए भने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा विद्यार्थीहरुलाई पुरस्कार दिने कार्य पनि गरिएको थियो । विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले विद्यायको समग्र शैक्षिक तथा बाह्य वस्तुस्थितिको बारेमा जानकारी दिएका थिए ।

















