बैतडी– बैतडीमा इजाजत प्राप्त ४०७ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै स्थानिय प्रशासन कार्यालयको आग्रह बमोजिम ४०७ थान भरुवा बन्दुक फिर्ता गरिएको हो ।

प्रशासन कार्यालयले निर्वाचनको सुरक्षालाई लक्षित गर्दै गत माघ मसान्तसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गर्न आग्रह गरेको थियो । सो आग्रह बमोजिम हालसम्म ४०७ थान भरुवा बन्दुक फिर्ता आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रहरी निरीक्षक सिंहले बताए । इजाजत प्राप्त बन्दुक नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने उनले बताए । कसैले सूचना प्राप्त नगरेको भएमा अझै पनि इजाजत प्राप्त हातहतियार बुझाउन सकिने प्रहरी निरीक्षक सिंहले बताए ।
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार बैतडीमा १ हजार ८६ थान इजाजत प्राप्त हातहतियार रहेका छन् । तर ती मध्ये आधा भन्दा कममात्रै हतियार प्रहरीमा बुझाइएको छ । निर्वाचन सुरक्षाका लागि हातहतियार बुझाउन आग्रह गरिएको र हतियार नबुझाउनेलाई कानुन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । बुझाइएका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने प्रशासनले जनाएको छ ।
















