अत्तरिया – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १ गणेशपुरका भुवन प्रसाद पन्त मोटरसाइकल तथा स्कुटर मर्मतको तालिम लिन बिहानै १० बजे धनगढीको सीप तथा रोजगार मेलामा पुग्छन् । विगत २५ दिन देखि मेलामा मोटरसाइकल स्कुटरका पार्ट पुर्जा सँग उनको दैनिकी बितिरहेको छ । दैनिक ४ देखि ५ घण्टा सम्म सञ्चालन हुने तालिममा उनले हाससम्म मोटरसाइकल सर्भिस गर्ने, सकर बनाउने, सकर सिल हाल्ने, कार्गोरेटर सफा गर्ने, साइलेन्सर जोड्ने, हाफ इन्जिन खोल्ने, रिङ पिस्टन हाल्ने लगायतका काम सिकिसकेका छन् ।
सहज रूपमा बुझाउने प्रशिक्षक पाउँदा सिकाइमा एकदमै रुचि बढेर प्रभावकारी सिकाइ भएको उनको तर्क छ । ‘यहाँ धेरै राम्रो सिकाई भइरहेको छ’ उनले भने ‘सजिलै बुझ्ने गरी यहाँ प्रशिक्षकले सिकाइरहनु भएकाले निकै सहज भएको छ ।’ उनी मोटरसाइकल स्कुटर मर्मत गर्न सिकेर आफ्नै व्यवसाय गर्ने योजना रहेको सुनाउँछन् ।

कैलालीको धनगढीमा माघ ५ गते देखि सुरु भएको सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ । ७ विधामा २२ वटा सीप सम्बन्धी तालिम सञ्चालन भइरहेको मेलामा प्रशिक्षार्थी उत्साहित भएर सिकिरहेका छन् ।
मोटरसाइकल तथा स्कुटरको तालिम लिन धनगढी पुगेका बझाङको थलारा गाउँपालिका – ४ का चन्द्र बिसी पनि प्रशिक्षकको सिकाउने तरिका एकदमै मन परेको बताउँछन् ।
‘यहाँ प्रशिक्षकहरूले राम्रो सिकाइरहनु भएको छ’ उनले भने ‘सीप तथा रोजगार मेलामा युवाहरूले विभिन्न सीप सिक्ने मौका पाएका छौ ।’ उनले पनि सीप सिकेर आफ्नै व्यवसाय गर्ने योजना रहेको बताए । उनले भने ‘जति प्रेक्टिस गरियो त्यति सिक्ने काम हो यो । यो सीप सिकेर अब आफैले व्यवसाय सञ्चालन गर्ने योजना बनाएको छु ।’
मोटरसाइकल तथा स्कुटर तालिमका प्रशिक्षक दुर्गा बहादुर थापाले सहभागी प्रशिक्षार्थी एकदमै चासो दिएर सिक्ने गरेको बताए । उनले सीप सिकेकालाई रोजगारको कुनै समस्या नभएको बताए । उनले भने ‘यो सीप सिकेकाले काम देखाउन सके रोजगारको समस्या छैन ।’

कपडामा कडाइ भर्दै महिला
रन्जिता सापकोटालाई धनगढीमा सञ्चालित सीप तथा रोजगार मेलामा बुटिक तथा कडाइ तालिम लिन सुरु गरेको २५ दिन पुग्यो । उनी २५ दिनको अवधिमा अपेक्षा गरेभन्दा राम्रो उपलब्धि भएकोमा उत्साहित छिन ।
धनगढी उपमहानगरपालिका – २ की रन्जिताले सिकाउने तरिका धेरै राम्रो भएको बताइन । उनले भनिन् ‘यहाँ धेरै राम्रो सिकाइरहेका छन् । हामी निकै खुसी छौ ।’
उनले सीप सिकेर आफ्नै व्यवसाय गर्ने योजना रहेको बताइन् । ‘पहिला सामान्य कपडा सिलाउने मात्रै काम गर्थे । अहिले यहाँ सिकेपछि आफ्नै व्यवसाय गर्ने योजना बनाएकी छु’ उनले भनिन् ‘बुटिक तथा कडाइको राम्रो मार्केट छ । कडाइको काम गर्नेको राम्रो माग रहेको छ । कडाइ गरेको सामानको राम्रो माग र मूल्य पाउने भएकाले यो पेसा रोजेको हु ।’
बडिकेदार गाउँपालिका डोटीकी सुशीला चन्दले पनि २५ दिनको अवधिमा धेरै सिकाइ भएको बताइ । उनले भनिन ‘सुरुमा के गर्ने थाहा थिएन । अहिले धेरै सुधार भएको छ । यहाँ आएर कडाइ गर्न सिकिएको छ । डिजाइनका कपडा सिलाउन पनि सिकेका छौ । सिकाउने टिचरले राम्रो सिकाइरहनु भएको छ ।’
तालिमकी प्रशिक्षक असरामी चौधरीले बुटिक तथा कडाइमा ५ वटा डिजाइन सिकाइने बताइन । ‘कडाइ ब्लाउज, डिजाइनको कुर्ती, डिजाइनको सारारा सुरवाल, सल सिकाइरहेका छौ’ उनले भनिन ‘पहिले हामी डिजाइन गर्ने, ड्राफ्ट गर्ने, बुट्टा भर्ने, अनि कटिङ गरेका सिलाउन्छौ ।’
उनले तालिममा सहभागी एकदमै उत्साहित भएर सिक्ने गरेको बताइन । ‘सहभागी एकदमै उत्साहित छन् । यहाँ कडाइ गर्ने, सिलाउने सबै काम गर्ने भएकाले सहभागी खुसी छन्’ उनले भनिन ‘बुटिकको एक दमै राम्रो बजार छ । आफ्नै काम पनि गर्न सकियो । अरूकोमा काम गर्नको लागि पनि राम्रो बजार छ ।’ धनगढीको खुला मञ्चमा सञ्चालन भइरहेको तालिममा हाल ६ सय प्रशिक्षार्थीले प्रशिक्षण लिइरहेका छन् । तालिम एक महिना सम्म सञ्चालन हुने जनाइएको छ ।















