खाेज्नुहाेस

काठमा कला भर्दै युवा, फर्निचर बनाएर जीविकोपार्जन गर्ने लक्ष्य

Image

अत्तरिया – धनगढीको फूलबारीका भूपेस बुढामगरको फर्निचर पेसा प्रति निकै लगाव थियो । उनी गाउँ घरमा धेरथोर सके जति फर्निचरका सामान बनाउने काम पनि गर्थे । उनको रुचिको विषयमा धनगढीमा सञ्चालन हुने सीप तथा रोजगार मेलामा तालिम दिइने कुरा सुनेपछि उनी तालिमका लागि फारम भरे । तालिम लिन छनोट भएका उनी अहिले काठका विभिन्न सामान मात्रै बनाउन सिकेका छैनन् आधुनिक मेसिनमा काठमा बुट्टा भन्ने काम गर्न सिकिसकेका छन् । उनले अब फर्निचरको कामलाई नै जीविकोपार्जनको श्रोत बनाउने लक्ष्य बनाइसकेको बताए ।

‘पहिले देखि फर्निचरको काम गर्ने रुचि थियो । गाउँ घरतिर पनि मैले पहिले यही काम गर्थे’ उनले भने ‘अव जीविका पार्जनका लागि यही काम गर्ने योजना छ ।’

attariya hospital

कैलालीको लम्की चुहा नगरपालिका – ३ का राकेश घर्तीको पनि पहिले देखि फर्निचरमा रुचि थियो । उनका बुबा पनि फर्निचरको काम गर्ने भएकाले त्यसैलाई आधुनिक तरिकाले अघि बढाउने उनको योजना थियो । धनगढीको सीप तथा रोजगार मेलामा आफ्नो उद्देश्यलाई पुरा गर्ने तालिम लिइरहेका छन् । ‘अलि अलि जानकारी भएर मैले यो सीप सिक्न खोजेको हु । यहाँ एक महिना सीप सिकेर थप यस सम्बन्धी १÷२ वर्ष काम गरेर आफ्नै व्यवसाय गर्ने योजना छ’ उनले भने ‘यहाँ सिकाउने तरिका एकदमै राम्रो छ । सरहरूले नबुझेको कुरा राम्रोसँग बुझाइदिनुहुन्छ ।’

navjiwan hospital

दार्चुला अपि हिमाल गाउँपालिकाका प्रेम सिंह जौगडी पनि अहिले सीप तथा रोजगार मेलामा काठमा कला भरिरहेका छन् । उनले तालिममा हाल सम्म बेलना, मोबाइल स्टेन्ड, टी ट्रे, झ्यालको पल्ला, टेबुल, पलङ बनाउन सिकेको बताए ।

‘यहाँ हामीले ५ दिन सम्म फर्निचर बनाउने टुल बनाउन सिकेका थियौ । त्यसपछि हामीले बेलना, मोबाइल स्टेन्ड , टी ट्रे, झ्यालको पल्ला, टेबुल, पलङ बनाएका छौ’ उनले भने ‘सिकाइ राम्रो भएको छ । यो सिप सिकेर आफ्नो ठाउँमा केही गरौँ भन्ने योजना छ ।’ फर्निचरमा रुचि भएका उनले अनलाइनमा तालिम खुलेको जानकारी पाएपछि धनगढीमा सीप सिक्न आएको बताए ।

तालिमका प्रशिक्षक भक्त बहादुर महरा फर्निचर उद्योगमा राम्रो सम्भावना भएको बताए । उनले एक महिना सिकेको सीप अनुसार थप काम गरेमा काममा दक्ष बन्न सकिने बताए ।

‘फर्निचरको अहिले निकै राम्रो बजार छ । फर्निचरको कामदार पनि निकै कम छन् । कामदार नै नपाएर काम रोकिएका छन्’ उनले भने ‘यहाँ तालिम पाएपछि कामदारको पूर्ति हुने अपेक्षा लिएका छौ ।’ उनले यहाँ सिकेपछि फूलबारीमा रहेको भोकेसनल स्कुलमा पनि थप सिक्न सक्ने अवसर रहेको बताए । उनले सीप मेलामा फर्निचरका भाँडाकुँडा, टेबुल, झ्याल ढोका, पलङ लगायतका सामान बनाउन सिकाइरहेको बताए ।

धनगढीमा माघ ५ गते देखि सुरु भएको सीप तथा रोजगार मेलामा हाल ७ विधामा २२ वटा तालिम सञ्चालन भइरहेका छन् । धनगढीको खुला मञ्चमा सञ्चालन भइरहेको तालिममा हाल ६ सय प्रशिक्षार्थीले प्रशिक्षण लिइरहेका छन् ।