अत्तरियामा– कैलालीको धनगढीमा नयाँ व्यवस्थापन र विभिन्न सुविधा सहित केयरटेकर अस्पताल सञ्चालनमा आउने भएको छ । बुधबारदेखी करिब ३० करोडको लागतमा एक सय शैय्याको सो अस्पताल सञ्चालनमा आउन लागेको हो ।
अस्पताल प्रशासनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पताल सञ्चालन गर्नुको उद्देश्य र अस्पतालका सेवासुविधाहरुको बारेमा जानकारी दिएको छ । अस्पतालका अध्यक्ष गोपाल बहादुर शाहीले सरकारी अस्पताल र नीजि अस्पताल बिचको खाडल पुर्नका लागि आफुहरुले अस्पताल सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । ‘आज पनि धेरै नागरिकहरुसँग उपचार गराउने पैसा छैन, सरकारी अस्पतालमा भीड बढी हुन्छ तर नीजि अस्पतालको सेवासुविधा महंगो छ’ उनले भने ‘सरकारी अस्पताल बराबरकै मुल्यमा नीजि अस्पतालको सेवासुविधा दिनका लागि हामीले यो अस्पताल सञ्चालनमा ल्याएका हौँ ।’ उनले उक्त अस्पतालमा सेवा, प्रविधि र व्यवस्थापन नीजि अस्पतालको जस्तो भएपनि उपचार खर्च भने सरकारी अस्पताल सरह नै हुने दावी गरे ।


उनले अस्पतालमा तत्काल २४सै घण्टा इर्मेन्जेन्सी सेवा, जनरल मेडिसिन विशेषज्ञ सेवा, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नसा रोग विशेषज्ञ सेवा छाला तथा सौन्दर्य रोग विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, रेडियोलोजी विशेषज्ञ सेवा, नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा र डेन्टल केयर विशेषज्ञ सेवा रहेको बताए । त्यसबाहेक फिजियोथेरापी सेवा, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउन्ड सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ सेवा, युरो सर्जरी विशेषज्ञ सेवा, न्यूरो सर्जरी विशेषज्ञ सेवा, डिजिटल एक्सरे, आधुनिक प्रयोगशाला लगायतका सेवाहरु समेत रहेको उनको भनाई छ । उनले आगामी दिनमा अझ आवश्यक पर्ने विशेषज्ञ सेवाहरु थपिँदै जाने बताए ।
अस्पतालमा २४सै घण्टा एम्बुलेन्स सेवा रहेको बताउदै अध्यक्ष शाहीले अस्पतालमा विरामीहरुको सहजताको लागि एसी जडान गरिएको र बिरामीहरुका लागि हिडडुल गर्न हरियाली वातावरण सहित पार्क रहेको समेत उल्लेख गरे ।
उनले निकट भविष्यमै अझै सेवाहरु विस्तार गर्दै लैजाने समेत बताए । उनका अनुसार अस्पतालमा सञ्चालनका लागि हाल करिब ३० करोड लगानी लागिसकेको छ । भविष्यमा अन्य विभिन्न सेवासुविधाहरु थपिने भएकाले लगानी करिब १ अर्ब जति पुग्ने अनुमान रहेको उनले बताए । निकट भविष्यमा नर्सिङ कलेज, हेल्थ असिस्टेन्ट को अध्ययन कार्यक्रम सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको उनले बताए । उनले त्यसबाहेक ईन्भटर सहित भेन्टिलेटर जडान भएको एम्बुलेन्स ल्याउने, सिटी स्क्यान मेसिन जडान गर्ने र आईभिएफ, कार्डियो तथा क्यान्सर डिपार्ट सञ्चालन गर्ने योजना रहेको समेत सुनाए । अध्यक्ष शाहीले अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रमा विज्ञ चिकित्सक सहितको टीमबाट निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको समेत बताए । उनले अस्पताललाई पूर्ण गुणस्तरिय तथा कम खर्चिलो स्वास्थ्य सेवा दिने गरी सञ्चालनमा ल्याउन लागिएको बताए ।





















