खाेज्नुहाेस

‘दुर्गालक्ष्मी दौडिन्छ..’ ले पूर्व विद्यार्थीहरुलाई जोड्ने विश्वास

Image
दौडमा पहिलो भएका नरेन्द्र सिं रावत (जर्सी नम्बर ३) र दोस्रो भएका करन रावत (जर्सी नम्बर ४)

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु सम्मलित पूर्व विद्यार्थी मञ्च गठन भएको छ । जसले पूर्व विद्यार्थीहरुमा आपसी मित्रता गास्ने योजना लिएको छ । त्यसबाहेक दुर्गालक्ष्मी नमुना माविको चौतर्फी वृहत्तर विकासका लागि विद्यार्थीक्षेत्रबाट सहयोग गर्ने पनि मञ्चको लक्ष्य छ ।

विद्यालयको स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा २०८१ चैत १६ गते मञ्च गठन भएको थियो । जसको मुख्य उद्देश्य पूर्व विद्यार्थीहरुमा आपसी भाईचारा तथा मित्रता कायम गर्नु र आपसी सद्भाव र सहयोग बढाउनु रहेको मञ्चका अध्यक्ष नारद भट्टले जानकारी दिए । अन्तरराष्ट्रिय स्तर सम्म फैलिएका दुर्गालक्ष्मीका पूर्व विद्यार्थीहरुलाई एक ठाउँमा संगठित गरेर एक अर्काका अनुभव, ज्ञान, सिप र क्षमता आदान प्रदान गर्ने लक्ष्य मञ्चको रहेको उनको भनाई छ ।

attariya hospital

‘दुर्गालक्ष्मीबाट विभिन्न समयमा अध्यापन गरेर पास आउट भएका विद्यार्थीहरुलाई संगठित गर्ने हाम्रो मुख्य उद्देश्य हो’ उनले भने ‘हामी संगठित भए एक अर्काबिच आपसी माया, प्रेम, भाईचारा बढ्छ र एक अर्कालाई सहयोगमा हातेमालो गर्न हामी हरदम तयार हुनेछौ भन्ने मलाई विश्वास छ ।’ उनले दुर्गालक्ष्मीमा अध्यापन गरेर पासआउट भएका तमामौ विद्यार्थीहरु अझै पनि मञ्चमा आवद्ध हुन सकेको अवस्था नभएकाले मञ्चले ‘दुर्गालक्ष्मी दौडिन्छ..’ म्याराथुन प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।

‘यो विद्यालयबाट हालसम्म हजारौँ विद्यार्थीहरु पास आउट भैसकेका छन, तर ति सबै विद्यार्थीहरु अझै पनि मञ्चमा जोडिन सकेका छैनन’ उनले भने ‘यो प्रतियोगिता मार्फत विद्यालयमा अध्ययन गरेर पास आउट भएका पूर्व विद्यार्थीहरुलाई एक ठाउँमा संगठित गर्ने हाम्रो लक्ष्य हो, प्रतियोगिताले त्यो कार्य गर्नेछ भन्ने विश्वास लिएका छौ ।’

navjiwan hospital

मञ्च गठन भएको पहिलो वर्ष नै विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पहिलो पटक ‘दुर्गालक्ष्मी दौडिन्छ..’ म्याराथुन प्रतियोगिता आयोजना गरिएको थियो । दुर्गालक्ष्मीमा अध्यापन गरेका पूर्व विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउने सो प्रतियोगितामा त्यससमयमा करिब १०० बढी विद्यार्थी सहभागि भएका थिए । तर यस पटक भने करिब ३०० देखी ५०० को हाराहारीमा पूर्व विद्यार्थीहरु सहभागि हुने आँकलन आयोजकको छ ।

यस वर्ष आयोजकले म्याराथुन प्रतियोगिताको नारा पनि बनाएको छ । ‘दौड स्वास्थ्यका लागि, भेटौ मित्रताका लागि’ शिर्षकको नाराले पनि पूर्व विद्यार्थीहरुमा आपसी मित्रता कायम गर्न नै म्याराथुन प्रतियोगिता आयोजना गरिएको संकेत गर्दछ । म्याराथुन सकिएलगत्तै गोदावरी क्षेत्रमा पूर्व विद्यार्थीहरुको पिकनिक कार्यक्रम रहेको अध्यक्ष भट्टको भनाई छ ।

पूर्व विद्यार्थीहरु संगठित गर्ने मञ्चको योजना विद्यालयलाई सहयोगका लागि पनि भएको अध्यक्ष भट्टको भनाई छ । ‘मञ्चमा हामीले सबै विद्यार्थीहरुलाई संगठित गर्नुका पछाडी अर्काे मुख्य कारण पनि छ’ उनले भने ‘पूर्व विद्यार्थीहरु संगठीत भएर आएको आम्दानीबाट कोष निर्माण गरेर विद्यालयलाई भौतिक, शैक्षिक, प्राविधिक क्षेत्रमा हामी सहयोग गर्नेछौ ।’ उनले विद्यालयमा रहेका जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पनि सो कोषको रकमले सहयोग गर्ने योजना बनाएको बताए ।

म्याराथुन लाई प्रतिबिम्बात्मक बनाउनुहोला : प्रअ महता

दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक वीर सिँ महताले म्याराथुनलाई भौतिक मात्रै नभई प्रतिबिम्बात्मक तरिकाले अघि बढाउन आग्रह गरे । उनले विद्यालय र समुदायलाई एक आपसमा जोड्ने सुत्रका रुपमा पूर्व विद्यार्थी मञ्च रहने विस्वास लिएको बताए । ‘अहिले देशभरमै समुदाय र सामुदायिक विद्यालयबिचको सम्बन्ध त्यति बलियो बन्न सकेको छैन’ उनले भने ‘समुदाय र विद्यालय बिच एकआपसमा बलियो सम्बन्ध बनाउनका लागि पूर्व विद्यार्थी मञ्च कोषेढुंगा सावित हुनेछ भन्ने आशा लिएको छु ।’

उनले म्याराथुन समुदाय र विद्यालयलाई जोड्ने प्रतिबिम्बका रुपमा अघि बढोस भन्ने चाहना आफ्नो भएको बताए । उनले ‘दुर्गालक्ष्मी दौडिन्छ..’ शिर्षकलाई भौतिक रुपमा सिमित नराखी भविष्यमा दुर्गालक्ष्मी शैक्षिक, प्राविधिक, भौतिक रुपमा पनि दौडिन्छ भन्ने प्रतिबिम्बलाई आत्मसाथ गर्न आवश्यक रहेको बताए ।