अछाम – अछाममा आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको छ । रोगको प्रकोपले फल नलाग्दै आलुका बोट सुक्न थालेपछि व्यावसायिक आलु कृषक चिन्तित बनेका छन् । डढुवाको प्रकोप अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले लगाएको आलुमा बढी देखिएको हो ।

उक्त सहकारीले खेती गरिएको आलु बालीमा डढुवा रोगको प्रकोप देखिएको हो । सहकारीले भाडामा प्रयोग गरेको कुल २० रोपनी जग्गामध्ये करिब १० रोपनी क्षेत्रफलमा लगाइएको आलु बाली पूर्ण रुपमा सखाप भएको छ ।

संस्थाका अध्यक्ष सुरत भूलका अनुसार डढुवा रोगका कारण सहकारीलाई तीन लाख रुपियाँभन्दा बढीको क्षति पुगेको छ । उनले मौसममा आएको अचानक परिवर्तन, चिस्यान र निरन्तरको ओसिलो वातावरणका कारण रोग फैलिएको बताए ।
किसानले धेरै मिहिनेत गरेर लगाएको बाली एकाएक नष्ट हुँदा ठुलो आर्थिक क्षति बेहोर्नु परेको अध्यक्ष भूलको भनाइ रहेको छ ।
डढुवा रोगको अवस्था बुझ्न तथा प्राविधिक सहयोगका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई अछामका प्राविधिक पूर्ण प्रसाद ढुंगाना प्रभावित आलु बालीमा पुगेका थिए । उनले आलुमा देखिने डढुवा रोगका लक्षण, कारण र नियन्त्रणका उपायहरु बारे कृषकलाई जानकारी गराएका छन ।















