बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । जिल्ला सुरक्षा समितिले गरेको आग्रह अनुसार जिल्लामा विभिन्न व्यक्तिका नाममा रहेका इजाजत प्राप्त २८७ बन्दुक फिर्ता गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको र सोहीबमोजिम बन्दुक फिर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता बलदेब बडूले जानकारी दिए ।

फिर्ता गरिएका बन्दुकहरु जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको हो । बुझाइएका बन्दुक चैत २० गतेपश्चात फिर्ता गरिने जनाएको छ । आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार नियन्त्रणमा राखिएको समितिले जनाएको छ ।
















