अत्तरिया– बैतडीमा बिहेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बिहिबार जिल्लाको पुर्चाैडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहिबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । बस दुर्घटनामा परि बेहुलाका काकाद्धय ४२ वर्षीय नरेन्द्रराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी तथा उनिहरुका भतिजा ३५ वर्षीय वसन्तराज जोशीको निधन भएको छ ।


त्यस्तै बझाङको केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र उनका छोरा केशवराज भट्ट तथा बेहुलीका आफ्नै १४ वर्षीय भाइ सुशील जोशीको पनि निधन भएको प्रहरीले बताएको छ ।
त्यसैगरी बझाङकै बित्थडचिर–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङको जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि दुर्घटनामा निधन भएको छ ।
दुर्घटनामा ६ जनाको घटनास्थलम, २ जनाको स्वास्थ्य संस्थामा र ५ जनाको डडेल्धुरा अस्पताल ल्याउदै गर्दा निधन भएको प्रहरीले जनाएको छ ।


















