खाेज्नुहाेस

खेलकुद सँग समाजसेवा : प्रतियोगिता स्थलमा दानपेटि राखेर सामाजिक संस्थालाई सहयोग

Image

अत्तरिया– खेलकुद प्रतियोगिताहरुमा प्रायजसो खेलकुदका कार्यक्रमहरु मात्रै गरिन्छन् । विभिन्न प्रायोजकहरु सहित हुने भएकाले उनिहरुका विज्ञापन गर्नु र खेल खेलाउनु प्राय जसो सबै खेलकुदका प्रतियोगिताहरुको एउटै सोच हुन्छ ।

तर कैलालीको अत्तरियामा आयोजित एउटा प्रतियोगितामा भने दान पेटिका राखिएको छ । अत्तरियामा पुष १५ गतेदेखि सुरु भएको करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगितामा दान पेटिका राखिएको हो । दान पेटिकामा ‘यो दान पेटिकाबाट संकलन भएको रकमले महिला तथा बालबालिका सेभ हाउस, सुप समावेशी आधारभुत विद्यालय र समता स्कुललाई खेलकुदका सामग्री वितरण गरिनेछ’ लेखिएको छ । आयोजक पिएफए युवा क्लबले सो दान पेटिका खेलाडीहरु, दर्शक र अतिथि बस्ने स्थानमा पु-याउने गरेका छन ।

attariya hospital
navjiwan hospital

दानपेटिकामा लेखिएका संस्थाहरु सामाजिक संस्था हुन । उनिहरुले सामाजिक कार्य गर्दै आईरहेका छन । महिला तथा बालबालिका सेभ हाउसमा गोदावरी नगरक्षेत्रमा भेटिने अनाथ, असहाय महिला तथा बालबालिकाहरुलाई राख्ने गरिन्छ भने सुप समावेशी आधारभुत विद्यालय अपांगता भएका बालबालिकाहरुलाई आवाश सहितको पढ्ने सुविधा दिने विद्यालय हो । त्यस्तै समता स्कुलले अत्तरिया क्षेत्रमा एकदमै न्यून रकममा बालबालिकाहरुलाई अध्यापन गराईरहेको छ ।

गोदावरी नगरक्षेत्रमा खेलकुदका प्रतियोगिताहरु आयोजना गरिदा सामाजिक उत्तरदायित्व अन्तरगत यस्ता कार्यहरु सबैले गर्नुपर्छ भन्ने सोचेर आफूहरुले दान पेटिका राखेको क्लबका संस्थापक अध्यक्ष सन्तोष भट्टले जानकारी दिए । उनले खेलकुद प्रतियोगिता एउटा प्रतियोगिताका रुपमा मात्रै नभई सामाजिक विकासका रुपमा पनि अघि बढाईनुपर्ने बताए । उनले कुनै पनि कार्यक्रम हुँदा सामाजिक कार्यलाई जोड्नुपर्छ भनेर आफूहरुले अभियान चालेको बताए ।

‘अहिले भेट्रान्स प्रतियोगिता भएकाले यसबाट खेलाडीहरुको उत्पादन सम्भव छैन, पुर्व खेलाडीरुलाई खेलसँग जोडिरहन र खेलको माहौल सकारात्मक बनाउन हामीले यो प्रतियोगिता गरिरहेका हौ’ उनले भने ‘त्यसमा आर्थिक स्थिती बलियो नभएका तर सामाजिक कार्य गरिरहेका संस्थाहरुलाई प्रतियोगिताको तर्फबाट केही कार्य गर्नुपर्छ भनेर हामीले दान पेटिकाको अभियान चालेका हौ ।’ उनले सो दानपेटिकाबाट उठेको रकमले तिन ओटै संस्थालाई आवश्यक पर्ने खेलकुदका सामग्री र पाठ्यपुस्तकहरु दिईने बताए । उनले सो अभियान भेट्रान्स कपका आगामी सबै सस्करणहरुमा निरन्तर गरिने समेत बताए ।

२६ गते सम्पन्न हुने प्रतियोगिता अवधीभर दानपेटिका राखीने आयोजकले जनाएको छ । सो दानपेटिकामा खेलाडीहरु देखी लिएर दर्शक र अतिथिहरुले समेत दान गर्ने गरेको भट्टले बताए । ‘हामीले यो दानपेटिका सबै सामु लैजाने गरेका छौ, भएकाहरु सबैले दान गरिराख्नुभएको छ’ उनले भने ‘अतिथि मात्रै नभई दर्शक देखी खेलाडीहरु सम्मले दानपेटिकामा आफूले सक्दो सहयोग गरिराख्नुभएको छ ।’ प्रतियोगितालाई प्रतिष्पर्धात्मक मात्रै नभई सामाजिक उत्तरदायी भूमिकामा पनि राख्नुपर्ने उनको भनाई छ ।