धनगढी – कैलालीको धनगढीमा पत्रकार आचारसंहिता बारे छलफल गरिएको छ । नेपाल प्रेस काउन्सिलका सदस्य पदमराज जोशीले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई पत्रकार आचारसंहिता पुस्तिका र आचारसंहिताको लिखित ब्यानर हस्तान्तरण गर्दै यस बारे छलफल गरेका थिए ।

निर्वाचनको समयमा आचारसंहिता उलङ्घन हुँदै आएकाले फागुन २१ गतेका लागि तय भएको निर्वाचनका समयमा पत्रकारहरूलाई आचारसंहितामा रहेर काम गर्न सजग गराइएको थियो । पत्रकारले अरूमाथि औँला उठाउन मात्रै जानेर हुँदैन स्वयं आफू पनि आफ्नो पेसाप्रति कटिबद्ध भएको हुनु पर्ने प्रेस काउन्सिलका सदस्य पदमराज जोशी बताए ।

यस्तै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले अब लगत्तै प्रेस काउन्सिलसँगको सहकार्यमा कैलाली जिल्लाका अत्तरिया, टिकापुर, भजनी र धनगढीमा पत्रकार आचारसंहिताबारे सचेतना कार्यक्रम चलाउने बताए ।
नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष भरत शाहले प्रदेश महासंघले गर्दै आएका कार्यक्रममा अचार संहिताबारे आधारभूत प्रशिक्षण दिँदै आएको समेत बताए । नेपाल पत्रकार महासंघ कैलालीको सभा हलमा केन्द्रीय सदस्य योगेन्द्र बलायर पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह, कैलाली जिल्ला अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघ कैलाली पूर्व अध्यक्ष अर्जुन शाह, सल्लाहकार मीन बम लगायत पत्रकार महासंघका पदाधिकारी र अन्य सञ्चारकर्मीहरूको उपस्थितिमा आचारसंहिता बारे छलफल गरिएको थियो ।


















