खाेज्नुहाेस

बस्न सकेन सुदूरपश्चिम प्रदेशसभा बैठक

Image

धनगढी– शुक्रबार बस्ने भनेको सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्न सकेन । सभाहल तथा आवश्यक भौतिक र प्राविधिक व्यवस्थापनको काम पूरा नहुँदा प्रदेशसभा बैठक बस्न नसकेको हो ।

navjiwan hospital

पुस ११ गतेका लागि तय गरिएको प्रदेशसभा बैठक सभाहलको पुनर्निर्माण अधुरो रहेकाले पुनः स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा भवनमा आवश्यक कुर्सी, माइक, ध्वनि प्रणाली तथा अन्य संरचनात्मक र प्राविधिक तयारी पूरा हुन नसकेकाले बैठक सञ्चालन गर्न सम्भव नभएको सचिवालयको भनाइ छ । सभामुख भीम बहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिबाट बैठक सञ्चालनसम्बन्धी निर्णय गरिसके पनि सभाहल पूर्ण रूपमा तयार नभएकै कारण बैठक सार्नुपरेको बताएका छन् ।

attariya hospital

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडले सुदूरपश्चिम प्रदेशसभा भवनमा ठूलो क्षति पुगेको थियो । उक्त घटनामा प्रदेशसभा सचिवालय, विभिन्न संसदीय दलका कार्यालय तथा संसद् भवनमा गरी करिब आठ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । सोही क्षतिका कारण प्रदेशसभा बैठक पछिल्लो साढे तीन महिनादेखि ठप्प अवस्थामा रहँदै आएको छ ।

लामो समयपछि शुक्रबार बैठक बस्ने अपेक्षा गरिए पनि पुनर्निर्माणकै कारण त्यो सम्भव हुन सकेन । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आगजनी र तोडफोडबाट क्षति पुगेका संरचनाको मर्मत–सम्भारको काम अन्तिम चरणमा पुगेको छ । सूचना अधिकारी जैशीका अनुसार पछिल्लो समयको चिसो मौसम र आद्र्रताका कारण फर्निचर निर्माण तथा जडान कार्यमा ढिलाइ भएको हो । ‘फर्निचर र माइक जडानको काम अबको दुई–तीन दिनभित्र सम्पन्न हुन्छ’ उनले भने, ‘काम सकिएपछि एक साताभित्र प्रदेशसभा बैठक सञ्चालन हुनसक्छ ।’ अर्को बैठकको ठोस मिति भने तय हुन सकेको छैन ।