अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीले ५६ करोड बढीको कारोबार गरेको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म कुल ५६ करोड ७८ लाख १५ हजार ८९५ रुपैयाको कारोबार गरेको हो ।
आईतबार सम्पन्न संस्थाको २९औ वार्षिक साधारण सभामा संस्थाका मुख्य प्रबन्धक गोरख बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा ५६ करोडको आर्थिक कारोबारबाट एक करोड बढीको नाफा आर्जन सफल भएको उनले जानकारी दिए । उनका अनुसार संस्थाले सो आर्थिक वर्षमा एक करोड ८ लाख ८ हजार ६३० रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले मलखाद बिक्रि, व्याज, कृषि कार्यबाट भएको आम्दानी लगायतका शिर्षकहरुबाट नाफा आर्जन गरेको उनले बताए । उक्त आर्थिक वर्षमा संस्थाले ४६ लाख २४ हजार ५१५ रुपैया जगेडा कोषमा राखेको छ भने ३७ लाख ७१ हजार ९१२ रुपैया लगानी रहेको छ ।

२०५३ सालमा ५९१ जना शेयरसदस्य र १२ हजार ५ सय शेयरपुँजी बाट सुरु भएको संस्थामा आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म ६ हजार ७९८ जना शेयरसदस्यहरु रहेका छन । संस्थामा उक्त अवधीसम्म आईपुग्दा ३ करोड ५० लाख ७८ हजार ४०० रुपैया शेयरपुँजी रहेको मुख्य प्रबन्धक खत्रीले बताए ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष तेजराज अवस्थीले प्रस्तुत गरेका थिए भने स्वतन्त्र लेखा परिक्षण प्रतिवेदन लेखा समिति सदस्य चेतना भण्डारीले र आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा समिति संयोजक सुस्मा केसीले प्रस्तुत गरेकी थिईन ।
आईतबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष अवस्थीको सभापत्विमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रदेश कृषि सहकारी संघ लि. सुदूरपश्चिमका अध्यक्ष धर्म सिँ कुँवर रहेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
संस्थाका सञ्चालक समिति सदस्य पुष्पलाल खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाकी कर्मचारी विपना लामाले गरेकी थिईन ।















