अत्तरिया – सुदूरपश्चिमका तराइका जिल्लामा अत्यधिक चिसो बढेको छ । कुहिरो र हुस्सुले बिहीबार देखि घाम नलागेपछि तराइका जिल्लाहरूमा चिसो बढेको हो । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार लगातार घाम नलागेपछि शुक्रवार देखि अधिकतम तापक्रममा पनि कमी आएको छ । जसले गर्दा चिसो महसुस भएको छ ।

कार्यालयका मौसम विज्ञान सहायक सिंघम चौधरीले शुक्रवार न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको बताए । उनले शुक्रवार अधिकतम तापक्रम पनि १३.६ डिग्री सेल्सियस मात्रै मापन गरिएको बताए । अधिकतम तापक्रम पनि बढ्न नपाउँदा चिसो महसुस भएको उनको भनाई छ । शनिवार पनि न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम १५.१ सेल्सियस मापन गरिएको छ ।
बिहीबार भने न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिए पनि अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुगेको थियो । यस्तै बुधवार न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस र अधिकतम १९.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

घाम नलागेर चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेको छ । बिहान र साँझको समयमा बाक्लो कुहिरोले ढाक्ने गरेको छ भने दिउँसो पनि घाम नलाग्दा कठ्याङ्ग्रिँदो चिसो अनुभव भइरहेको छ ।
चिसो बढेपछि स्थानीय तहहरूले बिदा दिन थालेका छन् । चिसोमा पठन पाठन गर्न समस्या हुन थालेपछि स्थानीय तहहरूले बन्द गर्न थालेका हुन । चिसो बढेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले विगत केही दिन यता बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते बिदा दिने निर्णय गरिएको छ ।


















