खाेज्नुहाेस

कम्पनीले नै आलु किन्ने भएपछि गोदावरीका किसान दङ्ग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ सेहरीका आला राम चौधरीले १४ कट्ठामा आलु खेती गरेका छन् । एल्वड स्टन आलु खेती गरेका उनलाई बिक्री गर्न भने कुनै चिन्ता छैन । आलुको फ्रेन्स फ्राई उत्पादन गर्ने कम्पनीले उनले उत्पादन गरेको सबै आलु किन्ने गरेको छ । ‘यो वर्ष २ लाखको आलु उत्पादन हुने आशा छ’ उनले भने ‘यो आलुको उत्पादन पनि राम्रो हुन्छ । गत वर्ष एकै आलु ८५० ग्राम सम्मको उत्पादन भएको थियो । विक्री गर्न समस्या छैन ।’ उनले कम्पनीले घरमै आएर आलु उठाउने गरेको बताए ।

‘हामीले बिउको पनि पैसा दिनु पर्दैन । कम्पनीले नै बिउ दिन्छ । त्यो पछि हामीले आलु बिक्री गरेपछि त्यसमै बिउको पैसा काटेर खातामा पैसा हालिदिन्छ’ उनले भने ‘कम्पनी मार्फत लगाएको आलुमा बजारीकरणको समस्या छैन ।’ अर्का किसान मिथुन चौधरीले पनि आफूले कम्पनी मार्फत एल्वड स्टन जातको आलु खेती गरेको बताए ।

attariya hospital

उनले अन्य तरकारी सँगै सहजै बजार पाइने भएकाले एल्वड स्टन पनि खेती गरेको बताए । १५ कट्ठामा एल्वड स्टन खेती गरेका उनले कम्पनीले घरमै आएर उठाउने भएकाले सहज हुने बताए । थारु आलु पनि खेती गरेका उनले पछिल्लो समय थारु आलुको बजार पनि निकै राम्रो भएको बताए ।

navjiwan hospital

रुपन्देहीको शुद्दोधन गाउँपालिका –४ मैनहियामा रहेको फस्ट च्वाइस फुडस प्रालिले कैलालीको गोदावरीमा एल्वड स्टन जातको आलु खेती गरेका किसानबाट आलु किन्दै आएको छ । उक्त कम्पनी सँग सम्झौता गरेर यस वर्ष गोदावरीमा किसान जागरण आलु खेती समूह मार्फत ६५ जना किसानले आलु खेती गरेका छन् । उक्त आलु खेती समूहका अध्यक्ष रहेका नारायण चौधरीले गोदावरीमा करिब ४० बिगाहामा किसानहरूले कम्पनी मार्फत आलु खेती गरेको बताए ।

उनले कम्पनीले आलुको बिउ दिने, कुनै रोग, किराको समस्या भएमा प्राविधिक सहयोग गर्ने गरेको बताए । ‘कम्पनीले यस क्षेत्रमा एक जना कृषि प्राविधिक राखेको छ । हामीले आलु बालीमा कुनै समस्या देखिएका प्राविधिकलाई खबर गर्ने गरेका छौ’ प्राविधिकको सल्लाह अनुसार हामीले आलु खेती गर्दै आएका छौ ।’ विगत तीन वर्ष देखि कम्पनी सँगको सहकार्यमा १५ कट्ठामा आलु खेती गर्दै आएका उनले स्थानीय बजार भन्दा आलुको राम्रो मूल्य पाउने गरेको बताए ।

‘स्थानीय बजारमा आलु खन्ने बेलामा १७÷१८ रुपैयाँ पाउन पनि मुस्किल हुन्छ’ उनले भने ‘कम्पनीले २६ रुपैयाँ दिने गरेको छ । यो वर्ष २ रुपैयाँ बढाउन माग गरेका छौ ।’ उनले कम्पनीले एकै पटक किनिदिने भएकाले बिक्री गर्न सहज भएको बताए ।

कम्पनीका प्रतिनिधि सुरज भुसालले किसानबाट खरिद गरिएको आलुबाट फ्रेन्स फ्राई उत्पादन गर्ने गरिएको बताए । उनले गोदावरीमा समूहमा १ सय किसान आबद्ध रहेको बताए । उनले किसानलाई बिउविजन र प्राविधिक सहयोग गर्दै आएको बताए ।