बैतडी – बैतडीमा तीन वर्षको अवधि मात्रै घाँस काट्ने क्रममा भीरबाट लाडेर ४८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा २१ जना, २०८०/८१ मा १३ जना र २०८१/८२ मा १४ जनाको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि पुस १ गते सम्म ४ जनाको घाँस काट्दा भीरबाट लडेर मृत्यु भइसकेको छ । यो संख्या जोड्दा आर्थिक वर्ष २०७९/८० देखि हालसम्म ५२ जनाको घाँस काट्ने क्रममा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले बताए । मंगलबार (पुस १ गते) मात्रै जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका ७२ वर्षीय लक्ष्मी भट्टको घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बिहान स्याउला काट्न भनी घर नजिकैको जंगल गएकी भट्ट नफर्केपछि खोजी गर्ने क्रममा दिउँसो ४ बजेतिर स्थानीय ल्वापा भीरबाट लडेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । बैतडीमा पुरुषहरू ज्याला–मजदुरीमा जाने र महिलाहरूले मात्र घाँस काट्ने गर्ने चलन छ । दिनभर महिलाहरू घाँस काट्न ठूला–ठूला भीर चाहर्ने गर्दछन् । घाँस काट्न भीरमा जाँदा सुरक्षाका कुनै सावधानी अपनाइँदैन ।
घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु हुनेको संख्या योभन्दा बढी हुनसक्ने प्रहरीको अनुमान छ । घाँस काट्ने क्रममा लडेर मृत्यु हुँदा प्रहरीलाई खबर भएको संख्यामात्रै प्रहरीको तथ्यांकमा समेटिएको छ । कतिपय अवस्थामा मृत्यु भएपछि आफन्तले प्रहरीलाई खबर नगरी दाहसंस्कार गर्ने भएकाले वास्तविक संख्या तथ्यांकमा नआएको प्रहरीले जनाएको छ ।


















