अत्तरिया – पुस ७ गते देखि कैलालीको अत्तरियामा सञ्चालन हुने सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको तयारी धमाधम भइरहेको छ । महोत्सव सञ्चालन हुन ८ दिन बाँकी हुँदा महोत्सव स्थल सम्याउने, मञ्च तयार गर्ने, घेर बार गर्ने काम सँग सँगै चलिरहेको छ । महोत्सव स्थल निर्माण गर्ने काम मुख्य चुनौतीका रूपमा रहेको भए पनि विगत एक साता देखिको निरन्तरको प्रयासपछि अहिले महोत्सव स्थलले आकार लिएको छ ।
यसअघि लामिताल परिसरमा महोत्सव हुँदै आएको भए पनि यस वर्ष सो क्षेत्रमा नेपाली सेनाले घेर बार गरेपछि अत्तरियामा नयाँ महोत्सव स्थल निर्माण गर्नुपर्ने चुनौती रहेको थियो । त्यसका लागि लामीतालको दक्षिण क्षेत्रमा रहेको सुरक्षा सामुदायिक वनमा खुला ठाउँ भए पनि जमिनको लेबल सम्म नभएको, खाल्डाखुल्डी थिए ।

अहिले भने जमिनको सतह मिलाएर खाली ठाउँमा भरार गरेर समतल स्थान निर्माण गरिएको छ । यस वर्ष महोत्सव आयोजना गरिरहेको न्यु सृजनशील युवा क्लबका अध्यक्ष नर बहादुर राईले ठुलो चुनौतीका बिच महोत्सवको स्थल तयार गर्न सफल भएको बताए । उनले जमिनको सतह मिलाइएको भए पनि धुलो नउड्ने बनाउनका लागि रोलर लगाइने बताए ।
पूर्व पश्चिम राजमार्ग सँगै जोडिएको उक्त क्षेत्रमा सडक पट्टि महोत्सवको मञ्च निर्माणको काम पनि सुरु गरिएको छ । यस पटकको महोत्सवको मञ्चमा ब्यानरको ठाउँमा एलइडी लगाएर आकर्षक बनाइने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष राईले महोत्सवमा राखिने स्टल पनि बुकिङ भइसकेको बताए । उनले राष्ट्रिय स्तरका कलाकारको पनि टुङ्गो लागिसकेको बताए ।

उनले महोत्सवमा दुर्गेश थापा, पल शाह, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, टंक दाहाल, पशुपति शर्मा, रामजी खाँण लगायतका कलाकार आउने बताए । पुस १९ गते सम्म सञ्चालन हुने महोत्सवमा २५ भन्दा बढी कलाकारको टुङ्गो लागिसकेको उनले बताए ।
‘महोत्सव तयारीको ७० प्रतिशत काम भइसकेको छ’ उनले भने ‘भौतिक काम पनि हामी छिटै सक्ने गरी काम गरिरहेका छौ ।’ उनले महोत्सव स्थल निर्माणका लागि वनको पनि ठुलो सहयोग रहेको बताए । उनले महोत्सवको स्पन्सरको भने टुङ्गो नलागेको बताए । महोत्सवको रमाइलोका रूपमा मेलामा चर्खा, झुला, बालबालिकाका लागि खेल्ने ट्रेन, मिक्किमाउ लगायतका आकर्षक रहने जनाइएको छ ।

खुला स्थान निर्माण
अत्तरिया क्षेत्रमा सभा समारोह गर्नको लागि पनि खुला स्थानको समस्या हुँदै आएकोमा महोत्सवको लागि तयार पारिएको क्षेत्र पछि पनि खुला मञ्चका रूपमा प्रयोग गर्न सकिने भएको छ । अत्तरिया चोकदेखि करिब डेढ सय मिटरको मात्रै दुरीमा रहेको उक्त क्षेत्रमा भविष्यका अन्य कार्यक्रम गर्न पनि सहज हुने स्थानीय छविन्द्र नाथले बताए । सृजनशील युवा क्लवका सदस्य समेत रहेका उनले महोत्सव स्थल अत्तरियाका लागि ठुलो सम्पत्तिका रूपमा तयार भएकाले बताए ।
यसअघि लामिताल क्षेत्रमा आयोजना गरिने महोत्सवमा सेना सँग अनुमति लिएर आयोजना गरिने भए पनि त्यसपछि कुनै पनि कार्यक्रम आयोजना गर्ने समस्या हुने गरेको थियो । सो क्षेत्रमा मैदानकै बिचमा रुख पनि रहेका थिए ।



















