धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले एक महिनामा ३४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना बाँकी रहेका ३४३ फरार प्रतिवादीलाई मंसिर महिनामा पक्राउ गरिएको हो । प्रहरीले सर्च तथा स्वीप अपरेसनबाट मंसिर महिनामा फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार सो क्रममा सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय कैलालीले २०४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय मालाखेतीबाट ३० जना, टीकापुरबाट ३३ जना, भजनीबाट २७ जना, सुखडबाट १६ जना, सड्कपुरबाट ८ जना, लम्कीबाट २१ जना र चिसापानीबाट ३ जना पक्राउ परेका छन् ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतको फैसला कार्यान्वयन गराउने, कानुनको शासन कायम गर्ने तथा अपराध नियन्त्रणका लागि फरार प्रतिवादी पक्राउ अभियानलाई थप प्रभावकारी बनाइने छ ।

















