अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको जीवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको २२औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष पुनम कार्कीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटा रहेकी थिईन भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहेकी थिईन । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष कार्कीले, बाह्य लेखापरिक्षण प्रतिवेदन संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले, आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा समितिकी संयोजक शारदा सुवेदीले, संस्थाको अनुमानित बजेट कोषाध्यक्ष रेनुका बि.क र आगामी आर्थिक वर्षका कार्यक्रम सम्बन्धी प्रतिवेदन सञ्चालक समिति सदस्य सानु बि.क ले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मनिसा बोहराले गरेकी थिइन् ।

संस्थाले नगरपालिकाको वडा नं. १२ मा रहेको प्रगती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थासँग एकिकरण गरी सेवा प्रवाह गर्दै आईरहेको छ । हाल उक्त वडामा संस्थाले सेवा केन्द्र सञ्चालन गरेको छ । संस्थाले सदस्यहरुलाई विभिन्न किसिमका वित्तिय तथा गैह्रवित्तिय तालिमहरु सञ्चालन गर्दै आएको संस्थाकी अध्यक्ष पुनम कार्कीले बताईन । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थाले मल बिक्रि गर्नुका साथै सुपथ मुल्य पसल र कोशेली घर समेत सञ्चालन गर्दै आएको बताईन ।

साधारण सभामा संस्थामा आवद्ध ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो । प्रत्येक वर्ष झै यसवर्ष पनि सहकारीले ज्येष्ठ सदस्यहरुलाई सम्मानित गरेको संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले बताईन । उनले यसपटक संस्थाका ज्येष्ठ नागरिक सदस्यहरुलाई कम्बल वितरण गरिएको बताईन । उनका अनुसार संस्थाले चिसोको मौषममा केही राहत मिलोस भन्ने उद्देश्यले ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मानित गरिएको बताईन । त्यसबाहेक संस्थाले निधन भैसकेका सदस्य तथा सदस्यका परिवारलाई मृत्यु राहत र सुत्केरी भएका सदस्यहरुलाई पोषण खर्च पनि दिएको उनले बताईन । उनका अनुसार १२ जनालाई नगद रु. ५ हजारका दरले मृत्यु राहत दिईएको थियो भने ३५ जनालाई नगद रु. २ हजार ५०० का दरले पोषण खर्च दिईएको थियो ।
३४ करोडको कारोबार
संस्थाले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ३४ करोड ५५ लाख २४ हजार ६४१ रुपैया बराबरको कारोबार गरेको छ । जसबाफत संस्थाले ५४ लाख २९ हजार १६९ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाको निक्षेप २५ करोड ७१ लाख ९३ हजार ७१५ रुपैया रहेको छ भने २३ करोड ६५ लाख ९० हजार ७२८ रुपैया संस्थाको लगानी रहेको छ ।
२०५९ सालमा २५ जना महिलाहरुद्धारा संकलित १ लाख शेयरपुँजिबाट सुरु भएको सहकारीमा आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ४ हजार २८ शेयरसदस्य र ४ करोड ९ लाख ९३ हजार २०० शेयरपुँजी रहेको छ ।



















