खाेज्नुहाेस

सुदूरपश्चिममा लगानी सम्भावना, अवसर तथा चुनौती–स्थिति पत्र मुख्यमन्त्रीलाई बुझाइयो

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच औपचारिक भेटवार्ता भएको छ ।

सोमबार मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको “सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती–स्थिति पत्र, २०८१” मुख्यमन्त्री शाहलाई हस्तान्तरण गरेका थिए ।

attariya hospital
navjiwan hospital

स्थिति पत्र ग्रहणपछि मुख्यमन्त्री शाहले सुदूरपश्चिममा विशाल लगानी सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकारले अनुकुल लगानी वातावरण निर्माणलाई अत्यन्त प्राथमिकता दिएको बताए । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, भने ‘सुदूरपश्चिमको कर्णाली–चिसापानी क्षेत्रमा ५ अर्ब रूपैयाँ लगानीमा केवलकार परियोजना सञ्चालन गरी प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्नुभएकोमा धन्यवाद ।’

अध्यक्ष ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताउँदै प्रदेशमा अर्को ठूलो लगानी आकर्षित गर्न महासंघ प्रतिबद्ध रहेको जानकारी दिए । उनले चिसापानीमा ५ अर्ब लगानीमा निर्माण भइरहेको केवलकार परियोजना प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सीमानासँग नजिक रहेको भौगोलिक अवस्थाका कारण सुदूरपश्चिममा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लगानीको अवसर बढिरहेको उल्लेख गर्दै ढकालले नेपालमा नकारात्मक धारणा भन्दा पनि सकारात्मक ऊर्जा र लगानीमैत्री सोच आवश्यक भएको बताए ।