धनगढी – कैलालीको धनगढीमा भोलिदेखि सुदूरपश्चिम महोत्सव सुरु हुँदै छ । १९ औँ संस्करणको सुदूरपश्चिम महोत्सवको धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा सुरु हुन लागेको हो ।

महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने तयारी गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको तयारी पुरा भएको जनाइएको छ । पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गरिएको छ ।

तीन करोडको लगानीमा आयोजना हुने महोत्सवमा १५ करोडको कारोबार हुने संघले जनाएको छ । महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेकट्रोनिक, होटेललगायतका पाँच सय वटा स्टल रहनेछन् । कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी ५५ वटा स्टल निःशुल्क रहने छन् । महोत्सव अवधिभर सात लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवको अवलोकनका लागि विद्यार्थी र खेलाडीलाई ५० रुपैयाँ तथा सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट दर तोकिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

















