अत्तरिया– सुदूरपश्चिमबाट गत आर्थिक वर्षमा श्रम स्विकृति लिनेको संख्या बढेको छ । प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को तुलनामा वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिनेको संख्या बढेको हो ।

प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा २८ हजार ९९१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएका छन् । जुन आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०.६७ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशमा २४ हजार २५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएका थिए ।

अध्ययन अनुसार गत वर्ष श्रम स्विकृति लिनेहरुमध्ये २६ हजार ३७९ पुरुष र २ हजार ६१२ महिला रहेका छन । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा प्रदेशमा गत आर्थिक वर्षमा २०.६७ प्रतिशत बढीले बैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएको अध्ययनले जनाएको छ । जुन समग्र देशभरीबाट श्रम स्विकृति लिनेको संख्याको झण्डै ३.४५ प्रतिशत हुन आउने अध्ययनले निष्कर्ष निकालेको छ । आर्थिक वर्ष २०८०/०८१ मा २१ हजार ७४३ पुरुष र २ हजार २८२ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएका थिए ।
प्रदेशमा औषत वेरोजगारी दर बढी रहेकाले वैदेशिक रोजगारीमा जानेको संख्या दिनहुँ बढीरहेको अध्ययनले निष्कर्ष निकालेको छ । अध्ययन अनुसार प्रदेशमा बेरोजगारी दर ११.५ प्रतिशत रहेको छ । प्रादेशिक तुलनामा प्रति जनसंख्या रोजगारी दर सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम २४.१ प्रतिशत रहेको छ ।


















