काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाल प्रिमियर लिग (एनपिएल) सट्टेबाजीमा संलग्न रहेको आरोपमा ८ जना भारतीय नागरिकलाई बल्खुबाट पक्राउ गरेको छ। उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी रकम लगानी गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा आन्ध्र प्रदेशका राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साइ कुमार तम्मिसेट्टी र सेख चन्द बसल रहेका छन् । उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरिएको छ । अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।





















