अत्तरिया – कैलालीको धनगढीमा उत्पादन भएको खुर्सानीमा अत्यधिक विषादी भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका – १७ पथरी का किसान साहदेव चौधरिले उत्पादन गरेको खुर्सानीमा अत्यधिक विषादी भेटिएको हो ।
प्रयोगशालाका नायव प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले बिहीबार बिहान गरिएको परीक्षणमा खुर्सानीमा ७२.३४९ प्रतिशत अर्गानोफस्फेटको रोकावट प्रतिशत भेटिएको बताए । उनले खुर्सानीमा कार्बोमेटको मात्रा पनि ३९.९१९ रोकावट प्रतिशत रहेको बताए ।


उनका अनुसार तरकारी फलफूलमा विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएमा खान योग्य र ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन क्वारेनटाइनमा राखेर खान मिल्ने भए पनि ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए उपभोग अयोग्य हुन्छ ।
खुर्सानीमा विषादीको अत्यधिक मात्रा भएको पुष्टि भए पनि नष्ट भने गर्न नपाएको प्राविधिक भट्टले बताए । ‘बिहान अत्तरियामा रहेको कालिका ट्रेर्डसमा बिक्री गर्न आएका किसानबाटै स्याम्पल लिएका थियौ । रिपोर्ट आउँदा सम्म त्यो खुर्सानी कालिका ट्रेडर्सले किनेर कता विक्री गरेको रहेछ पत्ता नै लगाउन सकिएन’ उनले भने ‘यस पटक पछि कहाँ उत्पादन भएको भनेर पत्ता लगाउन सजिलो हुन्छ भनेर किसानकै विवरण लिएका थियौ ।’ उक्त खुर्सानी करिब ५० केजी बराबर रहेको उनले बताए ।
यसैबिच कृषि बजार व्यवस्थापन समिति अत्तरियाले धनगढी उपमहानगर कृषि शाखालाई कृषि बजार, ल्याब र कृषि ज्ञान केन्द्र समेतको सहभागिता हुने गरी उक्त क्षेत्रमा सचेतना कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ ।


















