बाजुरा– बाजुराको कोल्टीबाट राष्ट्रिय परिचय पत्र बनाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोल्टीबाटै परिचय पत्रका साथै अन्य सरकारी सेवाहरु दिने भएको हो ।
कोल्टीबाट परिचय पत्र लगायतका सरकारी सेवा पाईन थालेपछि जिल्लाको पुर्वाेत्तरी क्षेत्रका बासिन्दाहरु हर्षित भएका छन । परिचय पत्र बनाउन कै लागि सदरमुकाम मार्तडी पुग्नुपर्ने उनिहरुको बाध्यता हटेको छ ।


बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराका अनुसार पूर्वी–उत्तरी भेगका चार स्थानीय तहका बासिन्दालाई लक्षित गर्दै सेवा विस्तार गरिएको हो । उनले नागरिकलाई घर नजिकबाट सजिलो, सरल र छिटो सेवा उपलब्ध गराउनका लागि यो कदम उठाइएको बताए ।
प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले नागरिकले वर्षाैदेखी भोग्दै आएको कठिनाई समाधान गर्नका लागि सो कार्य गरिएको बताए । उनले सदरमुकाममा भिडभाड र दूरीका कारण नागरिकले झेल्नु परेको समस्यालाई समाधान गर्न कोल्टीमा सेवा विस्तार गरिएको बताए ।
उनका अनुसार जिल्लाको पुर्वोत्तरी क्षेत्रमा राष्ट्रिय परिचयपत्र वितरणका लागि कोल्टी उपयुक्त ठाउँ भएकाले यसले हजारौँ नागरिकलाई राहत पुग्ने छ । गाउँमै परिचयपत्र लगायत सरकारी सेवा लिन पाएपछि स्थानीयलाई सेवा लिन सहज बन्दै गएको छ । अबदेखि बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका नागरिकहरूले कोल्टी मै यो सेवा प्राप्त गर्न सक्नेछन् ।
साथै जिल्ला प्रशासन कार्यालय मार्तडी र कोल्टी दुवै स्थानबाट परिचयपत्र सेवा उपलब्ध हुने भएपछि नागरिकलाई विकल्प समेत खुलेको छ । यस कदमले दुर्गम क्षेत्रका मानिसहरूलाई समय, सम्पत्ति र श्रम बचत गर्दै सरकारी सेवाप्रति विश्वास वृद्धि गर्ने अपेक्षा गरिएको छ ।



















