अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मा.वि. र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस बिच जनशक्ति व्यवस्थापनका विषयमा सम्झौता भएको छ । नमुना माविको मागको आधारमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अध्यापनका लागि पठाउने गरी दुवै पक्ष बिच सम्झौता भएको हो ।
बुधबार दुवै पक्षको विभिन्न सर्तहरु सहित समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नमुना मा.वि. का अध्यक्ष हरिदत्त भट्टराई र प्रधानाध्यापक विर सिँ महताले तथा क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर र शिक्षाशास्त्र संकाय शिक्षण समिति अध्यक्ष डा. डम्बर बहादुर पालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । समझदारी पत्रमा नमुना माविमा विद्यार्थीको संख्या एकदमै बढी रहेको र जनशक्ति व्यवस्थापनमा चुनौती रहेको बताईएको छ ।

विद्यालयले आधारभुत तह (कक्षा १–५) मा आधुनिक र बालकेन्द्रित शिक्षण सिकाइका विधि प्रयोग गरि विद्यालयको आधारभुत तहलाई शैक्षिक गुणस्तरका हिसाबले बलियो बनाउन बाल शिक्षण र सिकाइ सम्बन्धी ज्ञान भएका अध्यावधिक शिक्षकको अभाव रहेको समझदारी पत्रमा उल्लेख गरेको छ । जसको समाधान गर्न क्याम्पस सँग समन्वय र सहकार्य गर्ने काम गरिएको हो ।

समझदारी पत्रमा पहिलो पक्ष अर्थात दुर्गालक्ष्मी नमुना मावि ले माग गरेअनुसारको जनशक्ति दोस्रो पक्षले उपलब्ध गराउने, पहिलो पक्षले माग गरेको खण्डमा आवश्यक पर्ने तालिम सेवा दोस्रो पक्ष अर्थात क्याम्पसले उपलब्ध गराउने, दोस्रो पक्षका प्रशिक्षार्थीहरुको अभ्यास शिक्षणमा पहिलो पक्षले सहयोग गर्ने, जनशक्ति व्यवस्थापन गर्दा वा तालिम, सेमिनार सञ्चालन गर्दा आवश्यक सेवा सुविधा पहिलो पक्षले तोके बमोजिम हुने र अन्य आवश्यक दुई पक्षिय शैक्षिक गुणस्तरीय हितको कार्यमा समन्वय र सहकार्य गर्ने लगायतका बुदाँहरु राखिएको छ । त्यसबाहेक सो समझदारी पत्र सम्झौता भएकै मितिबाट लागु हुने समेत भनिएको छ ।
दुवै पक्षले एकआपसमा समझदारी पत्र हस्तान्तरण गरेका थिए । समझदारी पत्र हस्तान्तरण पश्चात बोल्दै दुर्गालक्ष्मी नमुना मावि. का प्रधानाध्यापक विर सिँ महताले शिक्षा क्षेत्रमा एक अर्काले सामुदायिक विद्यालयको शिक्षालाई कसरी माथी उकास्न सकिन्छ भन्ने विषयमा सोचविचार गरेर समझदारी पत्र बनाईएको बताए । उनले नमुना माविमा रहेका करिब ३ हजार बढी विद्यार्थीहरुका लागि जनशक्ति व्यवस्थापनमा चुनौती भईरहेका बेला पत्रले सहजता ल्याउने विश्वास लिएको बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको चाप बढ्दा जनशक्ति व्यवस्थापनका लागि आवश्यक पर्ने आर्थिक स्रोत समेत नहुँने भएकाले दुवै सामुदायिक शिक्षण संस्थाहरुलाई सहज हुने गरी समझदारी पत्र बनाइएको बताए ।
समझदारी पत्र अनुसार क्याम्पसले विद्यालयका लागि जनशक्ति प्रदान गरेको खण्डमा सो जनशक्तिले कम्तीमा ३ महिना विद्यालयमा अध्ययन गराउनुपर्ने उनको भनाई छ । त्यसपश्चात सो जनशक्तिले राम्रो प्रस्तुती प्रस्तुत गर्न सकेमा समयावधी अझै बढाउन सकिने र त्यसबाहेक सो जनशक्तिलाई केही सामान्य रुपमा आतेजाते खर्चको रुपमा दिन सकिने उनले बताए ।
विद्यालयका अध्यक्ष हरिदत्त भट्टराईले दुवै पक्षको सम्झौताले शिक्षण क्षेत्रमा नयाँ कामको सुरुवात गरेको बताए । उनले सम्झौताले समग्रमा क्याम्पस र विद्यालय दुवैको समान हित हुने विश्वास व्यक्त गरे । उनले सो कदमले सरकारी स्तरमा आधारभुत तहको खस्किदो विद्यार्थी संख्यालाई उकास्न मद्दत पुग्ने अपेक्षा लिएको बताए । उनले आफू विद्यालयमा आएसँगै प्राथमिक तहलाई बढी फोकस दिएर काम गरिरहेको बताए । उनले आफूहरुको मेहनत सार्थक भए निजि विद्यालयहरुमा महंगो शुल्क दिएर पढाउनुपर्ने अवस्थाको अन्त्य हुने समेत बताए । उनले शिक्षा, खेलकुद लगायतका सबै क्षेत्रमा निजि भन्दा गुणस्तर दिने लक्ष्यका साथ आफूहरु अघि बढीरहेको बताए । उनले त्यसका साथै सबै क्षेत्रबाट साथ र सहयोगको अपेक्षा लिएको समेत बताए ।
क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐरले शिक्षाक्षेत्रका लागि सो समझदारी पत्र एकदमै उपयुक्त कदम भएको बताए । उनले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई पनि किताबी ज्ञानको साथै प्रयोगात्मक सिपको आवश्यकता रहने र त्यसका लागि विद्यालयको योजना उत्तम भएको बताए । ‘क्याम्पसका विद्यार्थीहरुलाई पनि किताबी ज्ञान मात्रै नभई सैद्धान्तिक अभ्यास आवश्यक पर्छ’ उनले भने ‘विद्यालयको यो कदमले उनिहरुको शिक्षण सिकाईको सिपलाई सहयोग पुग्नेछ भने विद्यालयले जनशक्ति प्राप्त गर्नेछ ।’ उनले क्याम्पस पनि विद्यालयलाई नै आधार बनाएर स्थापना गरिएको बताउदै विद्यालयलाई सहयोग पुग्ने किसिमका क्रियाकलापहरुमा क्याम्पस सदैव अग्रसर रहने बताए ।















