धनगढी – सुदूरपश्चिम प्रदेशमा १५ हजारभन्दा बढी मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमले दिएको जानकारीअनुसार प्रदेशभर १५ हजार १८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार १० असोज यता सबैभन्दा बढी कैलाल र कञ्चनपुरमा मतदाता थपिएका छन् ।

कैलालीमा छ हजार ९३ जना मतदाता थपिएका छन् । यस्तै, कञ्चनपुरमा तीन हजार ७२२ जना र दार्चुलामा एक हजार १४९ मतदाता थपिएका छन् । अछाममा नौ सय छ, बझाङमा आठ सय ५८, बाजुरामा सात सय २७, बैतडीमा छ सय ९५, डडेल्धुरामा पाँच सय ३५ र डोटीमा पाँच सय एक जना मतदाता थपिएका भट्टले जानकारी दिए ।

०७९ सालमा भएको निर्वाचनमा सुदूरपश्चिमभरि मतदाता संख्या १६ लाख ५८ हजार थियो । प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता हुने जानकारी दिए ।















