कञ्चनपुर– कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान बरामद गरेको थियो । बेवारिसे अवस्थामा रहेका इलेक्ट्रोनिक सामग्री, महिलाका कपडा तथा किराना सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामानलाई आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।



















