धनगढी– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बैबाहका गणेश चौधरीलाई निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले ह्विलचियर र आर्थिक सहयोग गरेका छन ।

दुर्घटनाबाट असक्त बनेका चौधरीलाई पन्तले ह्विलचियरका साथै नगद ११ हजार सहयोग गरेका हुन् । करिब दुई वर्षअघि काम गर्ने क्रममा खसेर घाइते बनेका चौधरी उपचारपछि पनि पहिलेको जस्तै अवस्थामा फर्किन सकेका छैनन् । आर्थिक अभावका बीच कठोर जीवन बिताइरहेका चौधरी अहिले पनि पूर्ण रूपमा असक्त छन् र दैनिक गतिविधि परिवारका सदस्यको सहारामा चल्दै आएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले सामान्य खाने खर्च समेत धान्न कठिन भइरहेको चौधरी परिवारको समस्या बुझेर सहयोग गरेको पन्तले बताए । उनले गणेश चौधरीकी पत्नी श्रीदेवी चौधरीलाई उक्त सहयोग सामग्री र रकम हस्तान्तरण गरेका हुन् । ह्विलचेयर पाएपछि श्रीदेवी चौधरीले भावुक हुँदै सहयोगी सबैप्रति आभार व्यक्त गरिन् ।
साइकल यात्री भरत विक्रम शाहको समन्वयमा ह्विलचेयर तथा नगद सहयोग उपलब्ध गराइएको पन्तले जानकारी दिए । सहयोग पाएपछि चौधरी परिवारले दैनिक जीवन सहज हुने आशा व्यक्त गरेको छ ।


















