खाेज्नुहाेस

चौकिडाँडा फल्टुडे सडक : ठेकेदार सँग तमसुक गर्दा पनि कामले गति लिएन

Image

अत्तरिया – सडक निर्माणको गर्ने म्यादको ध्वज्जी उडाउँदै आएका चौकिडाँडा फल्टुडे सडकका ठेकेदार सँग प्रशासनको रोहवरमा तमसुक गराउँदा पनि कामले गति लिन सकेको छैन । आर्थिक वर्ष २०७६/०७७ देखि निर्माण सुरु गरिएको सडकको ठेकेदारले कामै नगर्दा लथालिङ्ग भएपछि स्थानीय जनप्रतिनिधि नै आन्दोलित भएर प्रशासनको रोहबरमा काम गर्ने समय सीमा तोकेर भाद्र २२ गते तमसुक गरिएको थियो । तर, तमसुक अनुसार एउटा ठेकेदारले काम गरे पनि अझै अर्का ठेकेदारले भने बेवास्ता गरेका छन् ।

चौकिडाँडा फल्टुडे सडक अन्तरगत अढाई किलोमिटर सडक कालोपत्रे गने ठेक्का पाएको निर्माण कम्पनी एडभेन्चर थेगिम/सनलाईट जेभिले काम सुरु गरेको भए पनि तेडी निर्माण सेवा भने पुनः सम्पर्क विहीन बनेको छ । थेगिमले अढाई किलोमिटर सडक निर्माणको काम आर्थिक वर्ष २०७६/०७७ देखि गरिरहेको छ भने तेडीले ३ किलोमिटर सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७९/०८० काम सुरु गरेको थियो ।

attariya hospital

सम्झौता पछि थेगिमले सब बेसको काम सकेर हाल बेसको काम गरिरहेको छ । थेगिम सँग असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, फागुन ३० सम्म दोस्रो लेयरको कालोपत्रे गर्ने र चैत्र ३० सम्म अन्य काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो ।

तेडी निर्माण सेवा सँग पनि असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, मंसिर ३० सम्म दोस्रो लेयरको कालोपत्रे गर्ने र पुस ३० मा हस्तान्तरण गर्ने सम्झौता भएको थियो ।

navjiwan hospital

जसमा तेडी निर्माण सेवाका सञ्चालक दिल बहादुर ओली, पूर्वाधार विकास कार्यालयका अधिकृत जनक रोकाया, जितेन्द्र सिंह धामी सहित गोदावरीका जनप्रतिनिधि र सङ्घर्ष समितिका प्रतिनिधिको हस्ताक्षर गरेका थिए ।

तर, सम्झौता भएपछि केही दिन काम गरे जस्तो गरेर काम ठेकेदार बेपत्ता भएको वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले बताए । ‘सम्झौता पछि पहिले नै फालिएको अलि ग्राभेल बिछ्याउने र चाख्लेखोला पुल छेउमा ग्याभिन जाली हाल्ने काम गरेको थियो’ उनले भने ‘त्यसपछि अहिले ठेकेदार सम्पर्कमै छैन । कुनै नम्बरबाट फोन गरे पनि उठाउँदैन ।’ उनले थेगिमले सम्झौता अनुसार सब बेस, बेस हालेर ६ सय मिटर सडक पिच गर्ने तयारी गरिरहेको बताए ।

उनले तेडी निर्माण सेवाले भने काम गर्ने अवस्था नै नदेखिएको बताए । ‘सम्झौता अनुसार काम नभएपछि मंगलबार पुनः पुर्वधार विकास कार्यालय पुगेका थियौ । कार्यालय प्रमुखले ठेकेदारलाई काम गराउने प्रतिबद्धता जनाएका छन्’ उनले भने ‘अब काम गराउने हाम्रो जिम्मा भयो भन्नुभएको छ । हेरौँ के हुन्छ ।’

यसअघि लामो समय सम्म दुवै ठेकेदारले काम नगरी सडक अलपत्र पारेपछि वडा नम्बर ३, १० ११ र १२ का वडाध्यक्षले सडकमै वडा कार्यालय सञ्चालन गरेर विरोध जनाएको थिए । नगरप्रमुख सहितका जनप्रतिनिधिले भदौ २२ गते अत्तरिया चोकमा प्रदर्शन नै गरेका थिए ।

पूर्वाधार कार्यालयका इन्जिनियर जितेन्द्रसिंह धामीले थेगिमले पहिलो लेयरको कालोपत्रे गर्ने तयारी गरेको भए पनि टेडीले काम नगरेको हुँदा तोकिएको समयमा काम सकिने अवस्था नरहेको बताए ।