अत्तरिया – करिब २ वर्ष सम्म विपिनलाई जीवितै भेट्ने आशा महाकाली किनारामा खरानी बनेर अन्त्य भएको छ । बन्धक बनाइएको २ वर्ष १४ दिनपछि मंगलबार विपिन जोशीको महाकाली नदी किनार स्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टि सँगै २ वर्ष देखि विपिनलाई जीवितै भेट्ने आशाको त्यान्द्रो पनि खरानी बनेको छ । बन्धकमा परे लगतै मारिएको भनिए पनि विगत २ वर्ष सम्म उनको अवस्थाका बारेमा जानकारी नहुँदा उनको परिवार र सिङ्गो नेपालीका लागि निकै पीडादायक रहेको थियो । निकै प्रयास गर्दा पनि उनी जीवित रहे नरहेको समेत थाहा पाउन नसक्दा उनको खोजीमा भौँतारिएको परिवार निकै विक्षिप्त बनेको थियो ।

प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका विपिनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएसँगै उनको भौतिक शरीर पनि अन्त्य भएको छ । उनको अन्तिम संस्कार गर्नुअघि राष्ट्रिय सम्मान सहित सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी अर्पण गरेको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएका थिए भने अन्त्येष्टिमा सहभागी इजरायली राजदूतले इजरायलको झण्डा ओढाएर सम्मान गरेका थिए ।

अन्त्येष्टिअघि विपिनको कञ्चनपुरको भीमदत्त नगरपालिका – ३ भाषीस्थित मालिकार्जुन टोलमा रहेको घरबाट शवयात्रा निकालिएको थियो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली,आफन्त र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । विपिनको काजक्रिया ठुला बुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ । शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि विपिनको शव सोमबार काठमाडौँ ल्याइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारका प्रतिनिधिलगायतले विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सोमबार नै नेपाली सेनाको स्काईट्रकले धनगढी पु¥याएको शव कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उनको निवासमा पु¥याएको थियो ।
हमासले जोशीलाई किबुल आलुमिमबाट २०२३ अक्टोबर ७ तारिखमा अपहरण गरेको थियो । उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही समयअघि सार्वजनिक भएको थियो । इजरायल र हमासबीच युद्ध विराम सम्झौतापछि हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
डिएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको हो । इजरायलले पठाएको फोरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरेका थिए । त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुबेको छ ।


















