अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका भित्र अवैध रूपमा सञ्चालित टेन्ट र डिजे व्यवसाय रोकन माग गरिएको छ । टेन्ट व्यवसायीहरूले आइतबार कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेम राज ओझालाई भेटेर पालिका भित्र डेढ सय भन्दा बढी अवैध टेन्ट व्यवसाय सञ्चालन रहेकाले उक्त यस्ता अवैध व्यवसाय रोक्न माग गरेका हुन ।

कृष्णपुर टेन्ट डिजे समितिका उपाध्यक्ष पुष्पराज जोशीले हाल कृष्णपुर नगरपालिकाको विभिन्न टोल–टोलमा विभिन्न व्यक्तिहरू तथा समूहहरूले अनुमति विना, अवैध रूपमा टेन्ट तथा डिजे व्यवसाय सञ्चालन गरिरहेका यस्ता व्यवसाय रोक्न नगरप्रमुख समक्ष माग गरिएको बताए ।
टेन्ट व्यवसायीहरूले यस किसिमका क्रियाकलापहरूले स्थानीय व्यवसायीहरूमा अन्याय हुने, सामुदायिक शान्ति भङ्ग हुने, तथा नेपाल सरकारको तोकिएको कानुनी मापदण्ड विपरीत कार्य भइरहेका कारण यसमा नगरप्रमुखले ध्यान दिन आवश्यक रहेको बताएका थिए ।

उनीहरूले टोल–टोलमा समूहगत रूपमा सञ्चालन भइरहेका टेन्ट व्यवसायहरूलाई कानुनी दायरामा ल्याई दर्ता प्रक्रिया अनिवार्य गरियोस् वा दर्ता नभएका अवैध व्यवसायहरू तत्काल बन्द गर्न, विभिन्न क्लब, मन्दिर, सामुदायिक वन आदि नाममा सञ्चालन भइरहेका डिजे र टेन्ट व्यवसायहरूलाई रोक लगाउन, नेपाल सरकारको सम्बन्धित निकायबाट अनुमति नलिएका व्यवसायीहरूलाई तत्काल कानुनी दायरामा ल्याई, तोकिएको व्यावसायिक क्षेत्रभित्र मात्र कारोबार गर्न पहल गरिदिन अनुरोध गरेका थिए । टेन्ट व्यवसायीले नेपाल सरकारको निर्णय अनुसार राति १० बजेपछि डिजे सञ्चालनमा पूर्ण प्रतिबन्ध लागू गर्न र उल्लङ्घन गर्नेहरूमाथि विद्यमान कानुन अनुसार कारबाही गर्न पनि माग गरेका थिए ।
व्यवसायीका समस्या सुने पछि नगर प्रमुख ओझाले यस्ता समस्या र इजाजत नलिई गर्ने व्यवसायीलाई दर्तामा ल्याउन पहल गर्ने, डिजे लगायत क्षेत्राधिकार बाहिर गएर व्यापार गरिरहेकाहरूलाई कानुनले दिएको अनुसार चल्न पहले गर्ने बताएका थिए । टेन्ट व्यवसायीलाई आफ्ना समस्या लिखित रूपमा समेत आग्रह गरेका थिए ।
हाल कृष्णपुर नगरपालिकामा ११ वटा मात्र टेन्ट डिजे व्यवसाय सञ्चालनमा रहेका भए पनि विना दर्ता गरी १५० भन्दा बढिले कारोबार गरिरहेको टेन्ट व्यवसाय समितिको दाबी छ ।
मन्दिर, युवा क्लब, समूह, सामुदायिक वनले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर हाल टेन्ट तथा डिजे व्यवसाय सञ्चालन गरिरहेको टेन्ट व्यवसायी विनोद मल्लले बताए । उनले यस्ता संघ संस्थाले आफ्नो कार्यक्रम बाहेक गरिरहेको यस्ता क्रियाकलाप बन्द गरिनुपर्ने बताए । टेन्ट व्यवसायीले आइतबार नै कैलालीको गौरीगंगा नगर प्रमुखलाई पनि भेटेर आफ्ना समस्या राखेका थिए ।

















