धनगढी – वीरताको प्रतीक थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा बढेको छ । यस्ता लोपोन्मुख नाच संरक्षणको प्रयास राज्यस्तरबाटै नभएपछि यो मौलिक नाच लोप हुने खतरा बढेको हो । विगतमा दसैँ, दीपावलीताका विभिन्न गाउँमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले देख्न पाइन्छ ।

पहिले मुङ्ग्रहवा नाच गरेका पुस्ता अहिले बुढेसकालमा पुगिसकेका छन् । पिठ्युँपछाडि मयूरको प्वाँख बाँधी काठको मुङ्ग्रो लिएर देखाउने नाच नयाँ पुस्तामा पुस्तान्तरण हुन सकेको छैन । मुङ्ग्रहवा नाच संरक्षणप्रति राज्यको ध्यान नगएकाले यो नाच लोप हुने खतरा बढ्दै गएको कैलारी गाउँपालिका–६, खरुवाखेराका मुङ्ग्रहवा नाचका अगुवा मन्दरिया भागिराम चौधरीले दुःखेसो गरे । “हामीले संरक्षणका लागि आफ्नोतर्फबाट धेरै कोसिस गर्दै आएको छौँ,” उनले भने, “तर राज्यले चासो नदिएका कारण निराश छौं । एकदिन यो नाच लोप हुने चिन्ता छ ।”

कैलालीमा मुङ्ग्रहवा नाच खरुवाखेराको भागिरामको टिमले मात्रै नियमित रूपमा देखाउँदै आएको छ । चौधरीसहित उहाँका सहपाठीले २०४२ सालदेखि यो नाच देखाउँदै आएका छन् तर राज्यबाट हौसला थप्ने काम नभएपछि अब निराशा छाएको उनको भनाइ छ ।
मुङ्ग्रहवा नाच पुरुष र महिला दुवै मिलेर नाच्ने गरेका छन् । पछाडि नाचिने महिलालाई द्रौपदी भन्ने गरिएको छ । विगतमा द्रौपदीको भूमिका पनि पुरुषले नै महिलाको वेशभूषा लगाएर निर्वाह गर्ने गरेका थिए तर अचेल यो भूमिकामा महिला नै रहने गरेका जनाइएको छ । थारू समुदायको यो एकदम आकर्षक नाच लोपको सँघारमा पुग्नु चिन्ताको विषय रहेको कैलारी गाउँपालिका–६ कै कुलराज चौधरीले बताए । उनले यो नृत्य संरक्षणका लागि सबै जुर्मुराउन आवश्यक रहेको बताए ।


















