
वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । दोस्रो खेल जितेसँगै नेपालले उपाधि पनि जितेको छ । नेपालले सोमबार भएको दोस्रो खेलमा ९० रनको जित निकालेसँगै शृंखला अन्तिम खेलअगावै सुनिश्चित गरेको हो । नेपाली क्रिकेटले इतिहासमै टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको यो पहिलो पटक हो ।
नेपाली टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको पहिलो शृंखलामा नै जित निकालेको हो । दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मङ्गलबार हुने तालिका छ ।


















