धनगढी – बिहीबार जलेको अवस्थामा भेटिएकी २२ वर्षीया टिकटकर आँचल नाथको मृत्यु भएको छ । उनको शनिबार दिउँसो १ बजेतिर उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भएकी उनी काठमाडौँको पेप्सीकोलामा बस्दै आएकी थिइन् । बिहीबार साँझ ४ बजेतिर उनको पेप्सीकोला नजिकै जडिबुटीबाट जलेको अवस्थामा उद्धार गरिएको थियो । स्थानीयले उनको उद्धार गरी काठमाडौँ मेडिकल कलेजमा पुर्याएका थिए । उपचारका क्रममा उनको दुई दिनपछि शनिबार मृत्यु भएको छ । उनको शरीर पूर्णरुपमा जलेको अस्पताल स्रोतले जानकारी दिएको छ । ‘उनको शरीर पूर्णरुपमा जलेको थियो । यहाँ लिनसाथ भेन्टिलेटरमा राखेर उपचार गरिएको हो । तर आज दिउँसो एक्पाएर्ड (मृत्यु) भयो’, अस्पताल स्रोतले भन्यो । आँचलको शवलाई पोष्टमार्टमका लागि हाल त्रिवि शिक्षण अस्पताल राखिएको छ ।
आँचल पेप्सीकोलामा डेरामा बस्दै आएकी थिइन् । उनी जडिबुटीमा शरीरमा पेट्रोल छर्किएर आगो लगाएको अवस्थामा भेटिएकी थिइन् । उनको शरीरमा कसरी आगो लाग्यो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर प्रहरी दुई दिनसम्म उनले आफै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी हुन् कि कसैले उनलाई जलाएको हो भन्नेमा अनुसन्धानमै छ ।

तर आँचलका ५५ वर्षीय बुबा दशरथ नाथले छोरीको आगो लगाएर हत्या गरिएको बताउँछन् । ‘उसले (आँचल) आत्मदाह गर्ने भए त कोठैमा गर्थि नि । किन पेप्सीकोलाबाट जडिबुटी पुग्थि र !’, उनले भने । छोरी जलेको दिन बिहीबार छिमेकी अर्को घरको कोठमा बस्ने एक महिलासँग झगडा भएको उनले सुनेका छन् । उनै महिलाको ग्यारेज (बाइक–गाडी बनाउने ठाउँ) भएको जेडिबुटीमै छोरीमाथि आगलागी भएको दशरथले बताए ।

उनै महिलासँग करिब महिना दिनअघि पनि झगडा भएको र प्रहरीमा मेलमिलाप भएको कुरा अहिले दशरथले थाहा पाएका छन् । ‘म गाउँमै थिएँ । त्यस्तै एक महिना पहिले पनि ती महिलासँग झगडा भएर प्रहरीमा मिलापत्र भएको थियो रे । अहिले उनकै ग्यारेज भएको ठाउँमै छोरीलाई जलाइयो’, आँचलका बुबाले भने ।
ती महिलाले आफ्नो श्रीमान्सँग लागेको भन्दै झगडा गरेको उनले बताए । अहिले पनि आँचललाई उनै महिलाले विभिन्न आरोप लगाएपछि बुझ्न उनकै पसलतिर छोरी गएको र त्यसैसमयमा शरीरमा आगो लगाइएको बुबा दशरथको आरोप छ । उनी महिला पनि पेस्पीकोला आँचलको कोठा नजिकै डेरा गरी बस्ने र पहिलेदेखि नै उनीहरू सँगसँगै टिकटकसमेत बनाउने गरेको थाहा पाएको दशरथले बताए ।
तर दशरथलाई अहिलेसम्म आँचलले आफै आगो लगाएर आत्मदाह गरेको बताइएको छ । त्यस कुरामा उनी विश्वास गर्न सकिरहेका छैनन् । ‘छोरीले आफै आत्मदाह गरेको भनेर विश्वास गर्ने कुनै ठाउँ नै छैन । शंकैशंका छ’ उनले भने । प्रहरी स्रोतकाअनुसार सोधपुछका लागि उनै महिलासहित तीन जना प्रहरी नियन्त्रणमा छन् ।
आँचल घरकी छ दिदीबहिनीमध्य कान्छी छोरी हुन् । उनी विदेश जाने तयारीका लागि करिब दुई वर्षदेखि पेप्सीकोलामा बस्दै आएकी थिइन् । उनीसँग उनका भाइ पनि बस्दै आएका थिए । घटना हुनु १०–१५ दिनअघि भाई घर फर्किएका थिए । उनलाई यसअघि दिदीको र छिमेकी ती महिलाबीच विवाद भएको थाहा थियो । तर उनले पनि त्यो कुरा घरमा नभनेको बुबा दशरथले बताए । ‘बाबुलाई त सबै थाहा रहेछ । तर घरमा थाहा थिएन’, उनले भने ।
दशरथका पाँच छोरीको विवाह भइसकेको छ । आँचल र दुई छोराको भने विवाह हुन बाँकी थियो । आँचलको भने युरोप जानका लागि भिसा आइसकेको थियो । ‘कुन देश हो मलाई पनि थाहा छैन । युरोप जाने भिसा आइसकेको थियो उसको’, बुबा दशरथले भने ।
छोरीको जलेर मृत्यु भएपछि उनी अहिले बेहोस जस्तै छन् । फोनमै उनले भने– ‘मेरो त सबै होस उडेको जस्तै भएको छ ।’ छोरीको जलेको खबरपछि उनी शुक्रबार मात्र काठमाडौँ आएका थिए । छोरीको न्याका लागि अब प्रहरी प्रकृयामा सुरु गर्ने बताए ।













