खाेज्नुहाेस

देउवालाई गृह प्रदेशबाट चुनौती र ढाडस

Image

अत्तरिया – कांग्रेस सभापति शेर बहादुर देउवालाई गृह प्रदेश सुदूरपश्चिमबाट समेत खुला चुनौती दिन थालिएको छ । जेन जी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला उनको गृह प्रदेशबाट समेत नेतृत्व छाड्न दबाब दिन थालिएको हो । बुधवार केही केन्द्रीय सदस्य, सुदूरपश्चिमका मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश समितिका कार्यवाहक सभापति लगायतले देउवा प्रति सहानुभूति देखाउँदै ढाडस दिए पनि बुधवार नै धनगढीमा पत्रकार सम्मेलन गरेका कांग्रेस कैलालीका उप सभापतिले नेतृत्व छाड्न खुला चुनौती नै दिए ।

पत्रकार सम्मेलनमा बोल्दै उपसभापति भीम बडूवालले जेन जी आन्दोलनले अब पुरानै शैलीमा राजनीति गर्न सकिँदैन भन्ने सन्देश दिएकाले अब आत्म समीक्षा, आत्मालोचना र सुधारको आवश्यकता रहेको बताए । उनले पार्टी भित्र पुनः निर्माण र पुनर्जागरण आवश्यक रहेको बताउँदै त्यसका लागि नयाँ नेतृत्व आउन आवश्यक रहेको बताए । ‘हाम्रो वर्तमान नेतृत्व देशको चुनौती थेग्न असफल भइसकेको छ’ उनले भने ‘तत्काल हामीले नयाँ नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता छ । योग्य, काबिल नेतृत्वको आवश्यकता छ ।’

attariya hospital
navjiwan hospital

उनले पार्टी आगामी निर्वाचनमा भयानक पराजयको सामान नगरोस् भन्नका लागि पार्टीभित्र आमूल परिवर्तन आवश्यक रहेको बताए । उनले व्यक्ति पूजाको नाममा पार्टी खरानी भएको हेर्न नसक्ने बताउँदै बिपी कोइरालाले देखेको सपनाको मुलुक बनाउन आवश्यक रहेको बताए । उनले त्यसका लागि मंसिर भित्र नियमित अधिवेशन सम्पन्न गर्ने र विशेष महाधिवेशन गर्नुपर्ने बताए ।

उता कांग्रेस कैलालीका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृप बहादुर वड, मुख्यमन्त्री कमल शाह, राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्र लगायत पनि बुधवार नै प्रेस विज्ञप्ति जारी गर्दै देउवाको बचाउ गरेका छन् । प्रेस विज्ञप्तिमा सभापति देउवाले नियमित महाधिवेशनमा पार्टी सभापतिमा नलड्ने र नेतृत्व हस्तान्तरण गर्ने भनेको कुरालाई पार्टीका पदाधिकारी र सदस्यलाई मनन गर्न भनिएको छ । पार्टी सभापति उपचारको क्रममा रहेकाले अहिलेको अवस्थामा सुझबुझका साथ पार्टी एकता कायम गर्न पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर सङ्कलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने पार्टीलाई विभाजनतिर लैजाने गतिविधि हुनबाट सचेत हुन विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सभापति देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि आक्रमण गरिनु, कोइराला निवास, चाक्सीबारी र भट्टराई आश्रम लगायत पार्टीका नेताहरूको निजी आवास, पार्टी कार्यालयहरूमा आगजनी तोडफोडले लोकतन्त्र मास्ने र कांग्रेसलाई कमजोर बनाउने शक्ति केन्द्रहरूको पर्दा पछाडिको खेल भएको उल्लेख छ ।

हाल नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ । सो अवस्थामा उनलाई गृह प्रदेशबाटै समेत चुनौती दिन थालिएको छ । विशेष गरेर महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व परिवर्तनको मुद्दा जोडतोडका साथ उठाइरहेका छन् । त्यसका लागि विशेष महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरिएको छ । जसका लागि महामन्त्री थापा समूहले हस्ताक्षर अभियान समेत अगाडी बढाएका छन् । उक्त अभियानमा सुदूरपश्चिमबाट पनि धेरै नेताहरूले साथ दिने आकलन गरिएको छ ।