अत्तरिया – जेन जी आन्दोलनका सहिद भएकाहरूको १३ औँ पुण्य तिथिमा अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । नेपाली काँग्रेस गोदावरी नगर समितिले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

काँग्रेस नगर सभापति वीर बहादुर चोखालले जेन जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरूको १३ औँ पुण्य तिथिको अवसरमा दीप प्रज्वलन गरिएको बताए ।
दीप प्रज्वलन कार्यक्रममा सहभागी गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले भदौ २३ गते सहादत प्राप्त गरेका १९ जनाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै जेन जीको आन्दोलनमा घुसपैठ भएर भएको क्षति प्रति खेद प्रकट गरे ।


काँग्रेस युवा नेता लोक राज पाण्डेले जेनजी आन्दोलन एक युगको आवश्यकता भएको बताउँदै यो आन्दोलनले देशको रोड म्याप बनाएकाले अहिलेको सरकारले त्यो रोडम्यापमा हिँड्न आवश्यक रहेको बताए ।
‘अति भएको कुरालाई सुधार गर्दै नेतृत्वहरुले पुस्तान्तरणको मुद्दालाई प्रमुखताका साथ उठाएर देश भरीमा एउटा नयाँ क्रान्तिको सुरुवात भएको छ’ उनले भने ‘यसका लागि जेन जी पुस्ताको सहादत खेर नजाओस् ।’ उनले अहिलेको सरकारमा ५० प्रतिशत जेन जी पुस्ता सहभागिता हुनुपर्ने बताए । उनले वर्तमान सरकारले तत्काल भ्रष्ट्राचार आयोग बनाउनु पर्ने बताए ।
‘यो सरकार सँग दम छ भने भ्रष्टाचार सम्बन्धी छानबिन आयोग गठन गरौँ । बोल्ने मात्र होइन’ उनले भने ‘अब हामी पनि सुध्रिऔँ । पुस्तान्तरण गरौँ । ९० वर्षको मान्छे ८ चोटि ९ चोटि प्रधानमन्त्री, सभापति बनाउने कुरा स्वीकार्य हुँदैन ।’
भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा ७४ जनाको निधन भइसकेको छ ।



















