अत्तरिया – भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट ध्वस्त भएको नगरपालिकालाई पुन निर्माण गर्नको लागि सहयोग गर्ने पुराना दलले प्रतिबद्धता जनाएका छन् । सोमबार नगरपालिकाको आह्वानमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चाले नगरपालिका पुनर्निर्माण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
नगरप्रमुख वीरेन्द्र भट्टले सहयोगको अपिल गरेपछि बोलका चारै दलका नेताहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । नेपाली कांग्रेसका नगर सभापति वीर बहादुर चोखालले जेन जीको आन्दोलनमा घुसपैठ गरेर सार्वजनिक, व्यक्तिगत सम्पत्ति माथि नोक्सानी गर्ने काम भएको बताए । उनले सार्वजनिक सम्पत्तिका रूपमा रहेको नगरपालिका भवनको पुन निर्माणका लागि पार्टी पति सबैलाई सहयोग गर्न अपिल गरे । उनले आफू र कार्यकर्तालाई खटाएर नगरपालिका भवन सञ्चालनमा ल्याउन सहयोग गर्ने बताए । ‘करोडौँको हिसाबले क्षति भएको छ । यसको पुनर्निर्माण लागि जनता सँग मात्रै नभएर यहाँका कर्मचारी, जनप्रतिनिधि सँग पनि सहयोग माग्न आवश्यक छ’ उनले भने ‘सबैले मिलेर यो नगरपालिका बनाउनु पर्छ ।’

नेकपा एमालेका नगर कमिटी अध्यक्ष सन्तोष सिंहले नगरपालिका जलेर क्षति भएको देख्दा निकै पीडा भएको बताउँदै नगरकै गौरवको भवन जल्नु निकै दुःख भएको बताए । उनले उनले जेनजीका नाममा अराजक तत्त्वहरूका कारण गोदावरी नगरपालिकाको सिर निहुरिएको बताए । ‘नगरपालिकाले सुरु गरेको पुनर्निर्माण काममा नेकपा एमालेको तर्फबाट सहयोगको अपिल गर्दछु’ उनले भने ‘भवन पुरानो अवस्थामा फर्काउन एमालेले पनि पूर्ण रूपमा सहयोग गर्नेछ ।’ उनले अहिलेको क्षति बाट पाठ सिकेर नेता, जनप्रतिनिधिले पनि सच्चिन आवश्यक रहेको बताए । उनले जनताले नेता, जनप्रतिनिधिको हरेक गतिविधि अवलोकन गरिरहने बताउँदै नेताहरूले अब आफ्नो सम्पत्ति सार्वजनिक गर्न आग्रह गरे ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्द राज भट्टले देश नै खरानी हुने गरी भएको घटना दुःख भएको बताउँदै यो सह्य नहुने बताए । उनले २०४६, २०६२–०६३ मा पनि आन्दोलन भएको बताउँदै अहिलेको आन्दोलन देशलाई समाप्त पर्ने प्रकारका शक्ति लागेर यस्तो भएको बताए । उनले नगरपालिका भवन पुनर्निर्माण लागि नगरपालिकाले सबैलाई सहयोगको अपिल गर्नु सराहनिय भएको बताए । उनले नगरपालिका भित्रका व्यवसायीबाट पनि सहयोगका लागि अनुरोध गर्नुपर्ने बताए । उनले अब भ्रष्ट्राचार रोक्नको लागि ठाउँको ठाउँ कारबाही हुने व्यवस्था गर्नुपर्ने बताए ।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले हावाहुरी आएजस्तै नगरपालिका तोडफोड आगजनी भएको बताउँदै अब यसको पुनर्निर्माण सबै लाग्नुपर्ने बताइन ।
गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टले नगरपालिकाका सम्पूर्ण सामाग्री जलेकाले नगरपालिकालाई पुन निर्माण गर्न जनसहभागिताको लागि आह्वान गरिएको बताए । उनले जनताको करबाट बनेको भवनमा भएको क्षति पनि पुन सञ्चालन गर्नको लागि देश तथा विदेशमा रहेका नागरिकलाई सहयोगको लागि अपिल गरे ।
उनले कार्यालयको भौतिक संरचना र कागजातहरू पूर्ण रूपमा ध्वस्त भएर कार्यालय सञ्चालन गर्न कम्प्युटर तथा अन्य उपकरण लगायतका सामाग्रीहरू जलेको अवस्थामा पुनः नगरपालिकालाई सञ्चालनमा ल्याउन राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, सङ्घसंस्था लगायतलाई सहयोगको अपिल गरे । उनले नगरपालिका कार्यपालिका बैठकबाट पनि कार्यालयको दैनिक सेवा प्रवाह पुनः सञ्चालनका लागि सहयोगको अपिल गर्ने निर्णय गरिएको बताए ।
जसका लागि नगरपालिकाले एनआइसी एसिया बैङ्कको खाना नम्बर र क्युआर सार्वजनिक गरेको छ । सर्वदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनमोर्चा पार्टीका नेता तथा कार्यकर्ताले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बैठकमा होटल व्यवसायी धाना चोखालले पनि आफ्ना धारणा राख्दै सहयोग गर्ने घोषणा गरेकी थिइन ।















