अछाम – अछाममा झण्डा गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा करेन्ट लागेर मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको मृत्यु भएको हो । उनलाई झण्डा गाड्ने क्रममा झण्डाको फलामे डण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए ।

उक्त घटनामा ५ जना घाइते भएका छन । घाइते हुनेमा बान्निगढी जयगढ– ६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउद रहेका छन । उनीहरुको यालपाटा प्रादेशिक अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















